उदयपुर, उदयपुरको बेलका नगरपालिका १ अम्बासीका रबिन्द्रबहादुर कटुवालको घरमा आगलागी हुँदा करिब २२ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान १ बजे कटुवालको पक्की घरमा विद्युत सर्टभई अचानक आगलागी हुँदा २१ लाख ९५ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट कटुवालको बा.४०.प.३९४१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, घरमा रहेको किराना पसलको सामान, फनिर्चर, अन्य भाडा वर्तन र खाद्यान्न समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।
सबै सुतिसकेको अवस्थामा अचानक सल्किएको आगो स्थानीयले राति ३ बजे नियन्त्रणमा लिएको राईले बताए ।
यस अघि फागुन ११ गते रौतामाई गाउँपालिका २ स्थित डुम्रेमा ५ घरमा आगलागी ६६ लाख बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया