सप्तरी, सप्तरीको महुली पुलमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ना.६ ख ३१८९ नम्बरको यात्रु बस काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा आइतबार बिहान साढे पाँच बजे दुर्घटना भएको थियो ।
फिफा डिलक्स बस दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।

चालकसहित २४ जना सवार बस अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको यात्रुृले बताए । दुर्घटनामा घाइते झापाको अनारमनी नगरपालिका–३ का ३० वर्षीय लेखनाथ ओलीको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी झापा–२ का ३३ वर्षीय अशोककुमार राजवंशी, त्यही ठाउँका ५५ वर्षीया बसमती राजबंशी र मेची नगरपालिका–१४ का ३० वर्षीय रेवती पौडेलको सिटीकेयर अस्पताल महुलीमा उपचार भइरहेको छ ।

यसैगरी बस चालक सिन्धुली तीनकन्या गाउँपालिका–३ का ३० वर्षीय टुपबहादुर आलेमगरको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।

दुर्घटनामा झापा सुरुङ्गा नगरपालिका–२ का ६० वर्षीया लक्ष्मी श्रेष्ठ, झापाको बिर्तामोड नगरपालिका–७ का २२ वर्षीय शैलेश आचार्य, झापाको बुद्धशान्ति गाउँपालिका–१ का ३४ वर्षीय जीवनकुमार कोइराला, झापाकै अनारमनी नगरपालिका–१ बस्ने २८ वर्षीया निर्मला श्रेष्ठ, सहचालक झापाको कमलामाई नगरपालिका–५ का ३० वर्षीय बबी बिक घाइते भएका छन् ।

अन्य घाइतेहरुमा सुनसरीको भण्टाबारी–९ का २२ वर्षीय जनत साहु, पाँचथरको फागुनन्द गाउँपालिका–५ का २७ वर्षीय सुमन चेम्जोङ, त्यही ठाउँका २७ वर्षीय बसन्त चेम्जोङ घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ ।

तपाईको प्रतिक्रिया