उदयपुर, त्रियुगा नगरपालिका ४ स्थित बगाहा फुटबल क्लबको आयोजनामा वडास्तरीय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । बगाहा खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा बगाहा युवा क्लवले त्रिनपा १२ डिएमगेटलाई १–० गोलान्तरले पराजित गरेको छ ।
खेल सुरु भएको १४ औं मिनटमा बगाहाका राजु महतले गरेको पहिलो गोल नै अन्तिम र निर्णायक बन्दै बगाहाले विजयी यात्रा थालेको हो । वडा कार्यालयको सहयोगमा आयोजित प्रतियोगितामा आयोजकसहित त्रिनपाका ५ नम्बर वडा श्रीपुर, ६ नं. जलजले, ७ नं. चुहाडे, ९ नं. राजाबास, १० नं. बोक्से, १२ नं. डिएमगेट र १३ नं. असारीसहित ८ वटा टिमको सहभागिता रहेको छ । आईतबारको हुने दोस्रा दिनको खेलमा ९ नं. राजाबास र ५ नं. बीच प्रतिस्पर्धा हुने छ ।
शनिबार आयोजित एक कार्यक्रममा एन्फा केन्द्रीय प्रवक्ता किरण राईले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष सुबास निरौला र एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीको पनि उपस्थिति थियो । प्रतियोगिताको फाईनल खेल आउदो २५ गते हुने छ । प्रतियोगिताका विजेता टिमलाई २५ हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई १५ हजार नगदका साथ सिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवका अध्यक्ष ध्रुब बस्नेतले बताएका छन् ।









