
राजेन्द्र महतो, लहान । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून न्याय मन्त्री ज्ञानेन्द्र यादवले भूमिहिन, गरिव, दलित विपन्नको जग्गा बेचविखन गर्ने भूमाफियालाई तह लगाउने बताएका छन् । शनिबार सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरियाको दलित बस्तीमा आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अन्तरगत ‘जनताको कचहरी कार्यक्रम’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
कार्यक्रममा आउनु अगाडी नै दलितहरुको गुनासो र समस्या सुनेपछि आक्रोशित हुँदै मन्त्री यादवले भूमाफियाहरुलाई तह लगाउन भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै ल्याउन लागेको जानकारी बताएका छन् । कानुनमन्त्री यादवले मधेशका जनताको न्यायका लागि आफू जस्तो सुकै शक्तिसँग टक्कर लिन तयार रहेको समेत बताएका छन् । उनले मधेश सरकारले पीडित जनताको घरमा पुगेर भएपनि समस्या सम्बोधन गरेर न्याय दिलाउने बाचा गरेका हुन् ।
मधेशमा विकराल रुपमा देखिएका दहेज प्रथा, लागुपदार्थ दुव्र्यसनी, महिला हिंसा, जग्गा सम्बन्धी लगायतका समस्याहरुलाई अन्त्य गर्न चाँडै विधेयक ल्याउन लागेको बताउनु भयो । उनले समाज निर्माण र विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको प्रष्ट पारेका थिए ।
मन्त्री यादवले संघीय सरकारको हस्तक्षेप प्रवृत्तिका कारण कानून निर्माणमा समस्या आएको सुनाउँदै लोक सेवा विधेयक पास गर्न ढिलाई भएको आरोप लगाउनु भयो । उनले प्रदेश सरकारको संघर्ष जारी रहेको र मधेशको विकराल बेरोजगारीको समस्या चाँडै नै समाधान हुनेमा आफु आशावादी रहेको बताए ।
यस्तै प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले गरेको विभिन्न कामहरु साझा रहेकोले जनताको हितमा संवेनशील भएर कानून निर्माणका कार्यहरु तिव्रता साथ भइरहेको जानकारी दिए । झाले भूमि सम्बन्धीको ऐनको प्रसँगमा कुनै व्यक्तिले जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा निजको नाममा जग्गा नामसारी हुने कानूनी व्यवस्था नै रहेकोले कोहीसँग अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जग्गा सम्बन्धि जिल्ला प्रशासन कार्यालयमा परेको निवेदन उपर अनुसन्धान भईरहेको र भूमाफियाहरुलाई कुनै पनि हालातमा उम्कन नदिने बताए । उनले किर्ते गरी मिर्चैया नगरपालिका ९ रमपुराका दलित बस्ती हड्पिएको जग्गा उपर अनुसन्धान जारी रहेको जनाउँदै दोषीलाई कानूनको कठघरामा उभ्याएरै छाड्ने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता गरेका हुन् ।
कार्यक्रममा उपस्थित सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठ, मालपोतका सहायक प्रमुख सुधीर यादव लगायतकाले पीडितहरुसँग न्याय गर्न आ–आफ्नो स्तरबाट हरेक सहयोग गर्ने प्रतिवद्धता जाहिर गरेका थिए ।









