
राजेन्द्र महतो, लहान । सिरहामा एक व्यक्ति गाउँपालिका अध्यक्ष कहाँ न्याय माग्न जाँदा उल्टै कुटिएर अस्पताल भर्ना हुनु परेको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव आफ्नो पसलमा चोरी भएको गुनासो लिएर न्याय माग्न गाउँपालिका पुग्दा उल्टै गाउँपालिका अध्यक्ष रामबल्लब साहबाट कुटाई खाएर अस्पताल भर्ना हुन पुगेका हुन् ।
पसलमा तोडफोडको भएको विषयमा गुनासो लिएर गएको अवस्थामा गाउँपालिका अध्यक्ष साहले सुरुमा आफै हातले पिटे र पछि सहयोगी मार्फत कार्यालयबाट हात र लातले कुट्दै बाहिर निकाली घाइते बनाएको पीडित विष्णुदेव यादव बताउँछन् ।
कुटपिटबाट घाइते भएका यादवलाई लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार गराएर घर फर्केका छन् । पीडितको निधार र आँखामा चोट लागेको छ ।
गत बुधवार ८ गते यादवको पसलमा चोरी भएको थियो । पसल बन्द गरेर घरमा खाना खान जाँदा ५–६ जनाको समुहमा आएका चोरहरुले पसल फोडेर पसलमा भएको चाउचाउ, रजनीगन्धा, रक्सी र नगद ७ हजार ६ सय रुपैयाँ लुटेर लग्यो ।’ उनले भने, ‘खोज्दै जाँदा गाउँ बाहिर चोर फेला पर्यो । एक्लै भएर समात्न सकिन तर, दुई जना चोरलाई चिने ।’
चोरी भएको खबर वडा अध्यक्ष धमेन्द्र रायलाई तत्कालै जानकारी दिएको उनले बताए । यादवका अनुसार गाउँमै जन्ती आएकाले राति केही नगर्नु भनेर वडाअध्यक्षले फर्काए । ९ गते वडाअध्यक्ष रायले यादवलाई आफुले यस विषयमा केही गर्न नसक्ने भन्दै न्यायिक समितिमा चिठी लेखेर पठायो । १० गते न्यायिक समितिमा छलफल चलिरहेका बेला अध्यक्ष साहले पञ्चायतको मिति सार्न लगाए ।
‘छलफलबाट सबै कुरा भइसकेको थियो, निर्णय लेख्न बाँकी थियो,’ न्यायिक समिति संयोजक तथा उपाध्यक्ष आशा यादवले भनिन, ‘त्यतिकैमा अध्यक्षले आज निर्णय नगरी अर्को दिन छलफल राख्न लगाए ।’ १६ गते विहीवार छलफलको समय दिएको थियो । अध्यक्ष साहले दिएको समयमा कार्यालय पुगेर आफ्नो चोरीको विषयमा के भयो भनेर सोधी खोजी गर्दा आफुमाथि कुटपिट भएको यादवले बताए । यता, अध्यक्ष साहले आफुले कुटपिट नगरेको दाबी गरेका छन् । पीडित यादवले जोडले बोल्न थालेपछि कार्यालयबाट सहयोगी लगाएर बाहिर निकालेको उनले स्वीकार गरे ।
‘आफुले कुटपिट गरेको छैन, विदाको दिन भएकोले छलफल हुन नसकेको यादवलाई सुनाउँदै थिए,’ अध्यक्ष साहले भने, ‘अलि जोडले बोल्न थालेपछि सहयोगी लगाएर कार्यालय बाहिर निकाल्न लगाए ।’
उनको पसलमा भएको यो चोरी आठौँ पटक हो । ४ वर्ष वैदेशिक रोजगार खटेर कमाएको पैसाले यही रोजगारी गर्ने उद्देश्यले पसल खोलेका उनलाई चोरले हैरान बनाएको छ । ‘सानो पुँजीमा व्यापार चलाएको छु, चोरीले पनि हैरान बनायो,’ न्याय माग्न जाँदा उल्टै आफै कुटिएको पीडित यादव बताए ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठले लिखित निवेदन दिन विष्णुदेव यादव कार्यालय आएको र निवेदन दिएपछि घटनाबारे अनुसन्धान गर्ने बताए । उनका अनुसार घटना बारे प्रहरीमा जानकारी गराउँदा घाउँ जेकजाँचको लागि लेखेर पठाएक छौं ।









