
उदयपुर, देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह उदयपुर आउने भएको छ । राप्रपा नेपालले हिन्दु राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसंगै ज्ञानेन्द्रले पनि आफ्नो यात्रा शुरु गरेसँगै फागुन २५ गते उदयपुर आउने कार्यक्रम तय भएको छ ।
मध्य तराईमा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले फागुन २५ गते राधाकृष्ण मन्दिरमा १ः३० बजे धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको पुजा अर्चना समितिका संयोजक रत्न बहादुर श्रेष्ठले जानकारी दिए । राधाकृष्ण मन्दिर, भगवति मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व राजा शाहले पुजा अर्चना गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताए ।
पूर्व राजाको सवारीको लागि मेन चौक देखि सेतो पुलसम्म पैदल यात्राको कार्यक्रम रहेको छ भने भगवति मन्दिर हुँदै राधा कृष्ण मन्दिरसम्म लैजाने कार्यक्रम रहेको पुजा पाठ समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
यही फागुन २२ गतेदेखि तराईका दर्जन बढी जिल्लामा भ्रमण गर्न निस्कन लाग्नु भएका शाह २५ गते उदयपुर आउने भएपछि यहाँस्थित स्थानीयबासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठनले स्वागतको भव्य तयारीमा जुटेको छ ।
लामो समयपछि पुर्व राजा शाहको दर्शन गर्न पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छ्न । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शाहको स्वागतको लागि उदयपुरमा भव्य तयारी थालिएको राप्रपा संयुक्तका केन्द्रिय सहायक मन्त्री धुर्व रायमाझीले जानकारी दिए । उनका अनुसार संस्थागत वा व्यक्तिगत भेटघाट गर्न चाहनेले फागुन २३ र २४ गते भित्र समितिमा सम्पर्क गरी नाम टिपाउन अनुरोध गरेका छन् । पूर्व राजा शाह उदयपुरमा करिव २ घण्टासम्म रहने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा सहभागी भई स्वागत र शाहको दर्शनभेट कार्यक्रममा सरिक हुन सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा आव्हान गरिएको राप्रपा संयुक्तका सहायक महामन्त्री धुर्व रायमाझीले बताए । धार्मिक भ्रमणसंगै उहाले राजनितिक भेटघाट गर्ने हुनुभएको स्रोतले जनाएको छ । तराई भ्रमण सकेर दमक पुगेलगत्तै ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्नुहुने भएको छ । को–को संग भेट गर्ने भन्ने विषयमा टुंगो नलागेपनि राप्रपा नेपाल लगायत मधेशवादी दलका विभिन्न तहका नेतासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मुलुकमा राजतन्त्र सहितको हिन्दु अधिराज्यको चर्को आवाज उठिरहेको बेला शाहको मध्य तराई क्षेत्रहरूमा हुन लागेको भ्रमणलाई महोत्वका साथ हेरिएको छ ।
स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलि पल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । २३ गते सिराहा पुगेपछि २४ गते पुनः जनकपुर बस्ने कार्यक्रम तय भएको छ । २५ गते उदयपुर पुगेर विभिन्न धार्मिक कार्यक्रममा सरिक भएपछि २६ गते सप्तरीको राजविराज जाने कार्यक्रम रहेको छ ।









