उदयपुर , समाजमा व्याप्त विभिन्न खालका अपराध नियन्त्रण र न्यूनीकरण गर्ने प्रयास स्वरुप उदयपुर प्रहरीले समुदायसम्म पुगेर चिया बाँड्न थालेको छ । प्रहरीले अभियानकै रुपमा आफ्नै खर्चमा ‘समुदायसंग चिया’ शीर्षक दिएर नौलो कार्यक्रम संचालन गरेको हो । कार्यक्रममार्फत समुदायसंग सम्बन्ध बढाएर घुलमिल हुँदै अपराध नियन्त्रण र न्यूनीकरणको अपेक्षा गरिएको छ ।
उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले समाजमा हुने विभिन्न खालका अपराध नियन्त्रण र अनुसन्धानका लागि समुदाय सम्म पुगेर त्यहाँका समस्याका बारेमा जानकारी लिने, सबैसंग औपचारिक सम्बन्ध बनाएर शान्ति सुरक्षाका विषयमा छलफल गर्ने, सर्वसाधारणलाई विभिन्न प्रकारका अपराधका बारेमा जानकारी गराउने, प्रहरीसंगको सहकार्य बढाउने र सबै प्रकारका सूचना प्राप्त गर्ने वातावरण बनाउने कार्यक्रमको उदेश्य रहेको स्पष्ट पारे । उनले समुदायसंग विभिन्न माध्यमबाट सम्बन्ध बढाउन सकिए अपराधमा कमि हुने, अपराध सम्बन्धी सूचना प्राप्त हुने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र प्रहरी सम्म सर्वसाधारणको पहुँच पुग्ने बताए ।
समुदायसंग घुलमिल हुने खालका कार्यक्रम संचालन गरिंदा प्रहरी सम्म पहुँच नभएका सर्वसाधारणको पनि प्रहरीमा पहुँच बढ्ने र अपराध सम्बन्धी सबै खाले सूचना प्राप्त हुने उनको भनाइ छ । एसपी राईले यो कार्यक्रम मार्फत स्थानीय स्तरमै पुगेर प्रहरीले सर्वसाधारणका गुनासा र समस्याको सुनुवाई गर्दै सम्बोधन गर्ने पनि जानकारी दिए । उनका अनुसार यस अघि समस्या पालेर तनावमा बसेकाहरु चिया कार्यक्रम संचालन गरिएपछि भने समाधान गरिदिने अपेक्षा सहित प्रहरीलाई सहज रुपमा आफ्ना समस्या सुनाउन थालेका छन् ।


एसपी राईका अनुसार समाजमा घट्ने सामाजिक प्रकृतिका अपराध न्यूनीकरण गर्न ‘चिया कार्यक्रम’ मार्फत त्रियुगा नगरपालिका १ स्थित जोगिदहमा मुसहर टोलमा कार्यक्रमको आयोजना गरिएको थियो । एसपी राईले यस कार्यक्रमलाई समुदायसँग अनौपचारिक सम्वादलाई अभियानकै रुपमा निरन्तरता दिइने बताए ।
यस्तै समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत बिद्यालय सम्पर्क कार्यक्रम समपन्न भएको थियो । समुदाय– प्रहरी साझेदारी अवधारणा अन्तर्गत त्रियुगा नगरपालिका १ स्थित जनता माध्यमिक विद्यालय जोगिदहमा वडा अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा प्रहरी बिद्यालय साझेदारी बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आधारभुत सुरक्षा, ट्राफिक नियम, साईवर क्राईम, आकस्मिक नम्बरको प्रयोग, लागूऔषध तथा मदिरा नियन्त्रण, महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको राय सुझाब पनि आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल, प्रहरी उपरीक्षक चन्द्रदेव राई, स्वतन्त्र बिज्ञ भाषाबिद डा. कैलास कुमार राई, मानव अधिकारकर्मी भरत खड्का, शिक्षा बिद जंग बहादुर खड्का, वडा सदस्यहरु, बिद्यालयका प्रध्यानाधपक, शिक्षक, अभिभावक तथा बिद्यार्थीहरु गरी २ सय जनाको उपस्थित रहेको थियो ।
यसअघि समुदाय–प्रहरी साझेदारी अवधारणा प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रहरीसंग एक दिने कार्यक्रम बाल मन्दिर माध्यमिक विद्यालय बोक्सेका शिक्षक तथा बिद्यार्थीहरुलाई समेत कार्यक्रम गरेको थियो ।

तपाईको प्रतिक्रिया