राजेन्द्र महतो, लहान, भारतीय भूमिमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो ।
गत मंगलबार घरबाटै बेपत्ता भएका यादव घाइते अवस्थामा बुधबार भारतको खुटौनामा भेटिएका थिए । स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगाको अस्पताल लगिएको थियो । घाइतेको दरभंगामा उपचार सम्भव नहुँदा थप उपचारको लागि पटना पुर्याइएको थियो । घाइतेको पटनामा उपचारको क्रममा बिहीबार मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिए । यादवमाथि ३ गोली प्रहार भएको प्रहरीले जानकारी दिए ।
भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवारलाई भारतीय सुरक्षाकर्मीले शव बुझाएका थिए । तर, पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिन लाग्दा शवको पुनः पोष्टमार्टम गराउन धरान पठाएको प्रहरीले जानकारी दिइएको छ ।
मृतकको बुबा वैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा रहेका छन् । घटनापछि आमा पटक–पटक बेहोस भइरहँदा आफन्तजनले उपचारका लागि अस्पताल भर्ना गराएका छन् ।
यसअघि माघ तेस्रो साता लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो ।









