उदयपुर, उदयपुरमा शनिबार दिउँसो १ बजे भीषण आगलागी हुँदा ६६ लाख बराबरको क्षति भएको छ । रौतामाई गाउँपालिका २ डुम्रेमा अचानक कमल बहादुर कार्कीको घरबाट आगलागी हुँदा ५ जनाको घर र गाई गोठ, अन्नपात, खशी बाख्रा जल्दा ६६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागीबाट कमल बहादुर कार्कीको एक घर, दुई गाई गोठ, बिदुर कार्कीको एक घर, एक गाई गोठ, दिपक कार्कीको एक घर, दुई गाई गोठ, राजेन्द्र बहादुर कार्कीको एक घर, एक गाई गोठ र ज्ञान बहादुर कार्कीको एक घर, एक गाई गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
आगलागीबाट खशी बाख्रा ४६ वटा, अन्नपात, भाडा वर्तन गरी अन्दाजी ६६ लाख बराबरको क्षति भएको डिएसपी रानाभाटले बताए । आगो स्थानीय र प्रहरीको सहयोगमा ४ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जानकारी दिए । आगलागी के कारणले भएको भन्ने खुल्न सकेको छैन् ।









