उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुलको जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् ।
“गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल” नागरिक बहस अनलाइनमा समाचार प्रकाशित भएपछि जनप्रतिनिधिहरूले चासो देखाएका हुन् । कटारी नगरपालिका ३ मा निर्माणाधिन पक्की पुलको गडर क्रयाक भएको समाचार केही दिनअघि यस अनलाइनमा प्रकाशित भएको थियो ।
चार वटा स्ल्याप मध्ये २ वटा निर्माण गर्न नपाउँदै भत्किन सुरु भएको थियो । पुलको अनुगमन गर्दै कटारी ३ का वडाध्यक्ष राम पोखरेलले ठेकेदारको चरम लापरबाहीले पुलको गडर क्र्याक भएको बताए । गुणस्तरहिन सामग्रीको प्रयोगले पुल भत्न थालेकोले पुलको निर्माण कार्य रोकेर पुनः फेरि थाल्नु पर्ने अध्यक्ष पोखरेलले बताए । निरीक्षण कै क्रममा कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापाले दैनिक चुन ढुंगा बोकेर एक हजार बढी टिपर चल्ने रोडमा पुल बन्न नपाउँदै भत्कीनुमा सबै सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताए । बन्न नपाउँदै पुल भत्किनु कमसल सामानको प्रयोग र ठेकेदारको लापरबाहीले हुन सक्ने भन्दै यसको जिम्मेबारी सडक विभागले लिनु पर्ने वडा अध्यक्ष थापाले बताए ।
सडक डिभिजन कार्यालय लहानका इन्जिनियर वेचन भण्डारीले भत्किनुका कारणहरू आफूहरूले हेरेपछि भन्न सक्ने जानकारी दिए । कमजोर निर्माणको कारण देखिए निकासा समेत रोकिने उनको भनाई छ ।
२०७३ ज्येष्ठ १३ गते राजेन्द्र, जगदम्बा, गल्वा जेभी काठमाण्डौंले भ्याट सहित ८ करोड ७९ लाख २८ हजार ७ रुपौंयामा ठेक्का लिएको हो । २०७५ मङ्सिर १२ सकिनु पर्नेमा हाल सम्म २ वटा मात्र स्ल्याप निर्माण भएको छ । पुल भत्किएको थाहा पाएपछि स्थानीयहरू हेर्न जाँदा स्थानीयहरूलाई ठेकेदार पक्षले तपाइहरूलाई हेर्ने अधिकार छैन भन्दै धम्काएको कटारी ३ का स्थानीय लाल प्रसाद सुवेदीले बताए । कमसल सामग्रीको प्रयोगको कारणले पुल बन्न नपाउँदै भत्किन सुरु भएको हुन सक्ने स्थानीयहरूले आशंका गरेका छन् ।

यो पनि पढ्नुस्

गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल

तपाईको प्रतिक्रिया