काठमाडौं । नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोट गराइएको छ । विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रविन्द्रबहादुर धानुकले जानकारी दिए । प्रहरीका अनुसार विस्फोटमा परी काभ्रेकी २५ वर्षीया प्रतीक्षा खड्का, लमजुङ घर भई भैँसेपाटी बस्ने सिंहप्रसाद गुरुङ र मेडिसिटी अस्पतालकी नर्स २५ वर्षीया उरुषा मानन्धर घाइते भएका छन्। तीनै जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको बी एन्ड बी, मेडिसिटी र अल्का अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइतेको सनाखत भएको छैन ।

एसएसपी धानुकका अनुसार शुक्रबार करिब साढे आठ बजे विस्फोट भएको हो। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विस्फोट गराएको आशंका गरेको छ। ‘विप्लव समूहले एनसेल प्रालिमा एक महिना अगाडि पत्र पठाएर चन्दा मागेको थियो, ‘एसएसपी धानुकले भने ‘त्यही पत्रबारे अस्ति ८ गते राजन तिमिल्सिना नेतृत्वमा ३ जना एनसेल कार्यालय पुगेका थिए। सुनुवाइ नभएपछि यो घटना गराइएको हुनसक्छ।’ घटनास्थलमा सुरक्षाकर्मीले घेरा हालेर अनुसन्धान जारी राखेका छन्।

यस्तै ललितपुरमा बम विस्फोट भएको केही मिनेटको अन्तरालमै उपत्याकाकै कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन मिठाई पसलभित्र बम भेटिएकाे छ ।

अहिले सेनाको डिस्पोजल टोलीले बमलाई निस्तेज पारिसकेको बताइएको छ । प्रहरीका अनुसार उक्त बम कसले राख्यो यसबारे खोजी भइरहेको छ ।

घटनाको बारेमा थप विवरण आउन बाँकी नै छ । महानगरीय प्रही परिसर काठमाडाैंका एसपी अशाेककुमार सिंहका अनुसार अहिले यस क्षेत्र वरपर सुरक्षा सतर्कता अपनाइएकाे छ ।

तपाईको प्रतिक्रिया