उदयपुर, उदयपुर जिल्लाबाट प्रहरीले बिहीवार छुट्टाछुट्टै समयमा प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ भने लालपत्ता प्रहरी चौकीबाट एक जना गरी ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विहिबार राती १० बजे लागूऔषध सहित त्रियुगा नगरपालिका ६ बस्ने बर्ष ३४ को गणेश चौधरी, त्रियुगा नगरपालिका ११ बस्ने बर्ष २४ को बिगेश राई र बर्ष २४ को अशोक भन्ने आशिस राई लाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारागन ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, डाईजेल्याव ७ एम्पुल सहित ४ थान सिरिन्ज बरामद गरेको छ ।
यस्तै त्रियुगा नगरपालिका ६ लालपत्तामा यात्रुबाहक सवारी साधन चेक जाँचको क्रममा सुरुङ्गा नगरपालिका ११ बस्ने वर्ष २० को रामबाबु चौधरीलाई १०० ग्राम गाँजा सहित पक्राउ परेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।









