उदयपुर, उदयपुरमा ट्याक्टर दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १४ स्थित सगरमाथा लोकमार्गको साउने गाईघाट सडक खण्डमा तेजपत्ताको लोड बोकेकै ट्याक्टरले यात्रु समेत बोकेर गाईघाट आउँदै गर्दा बुधबार दिउँसो २ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
रौतामाई गाउँपालिका ५ आँपटारबाट तेजपात्त बोकी गाईघाट तर्फ आउँदै गरेको ना. ५ त ६७६२ नम्बरको ट्याक्टर चालक त्रियुगा १५ खाँबु बस्ने २७ बर्षिय दुर्गा बहादुर मगर र सोही ट्याक्टरमा सबार रौतामाई ५ आँपटार बस्ने ४२ बर्षिय दिल बहादुर राईको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।
ट्याक्टरमा सवार अन्य ६ जना घाइते भएका थिए । घाइते हुनेमा रौतामाई गाउँपालिका ५ आँपटारका मदन राई, सोही ठाउँका अन्य यम कुमार राई, दिनेश राई, सरोज राई, खिलराज राई र त्रियुगा नगरपालिका १३ का रतनमणि चौधरी रहेको छन् ।
उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । मृतक दिल बहादुर राई र मदन राई दाजुभाई हुन् । तिव्र गतिका कारण ट्याक्टरले ओरालोको मोडमा मोड्न नसकेपछि दुर्घटना भएको सोही ट्याक्टरमा सवार रतनमणि लेखीले बताए । यस वर्ष ट्याक्टरमा दुर्घटना परी मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
























