सुखिलाल चौधरी, उदयपुर, उदयपुरमा महिला तथा बालबालिका हराउनेको संख्या डर लाग्दो देखिएको छ । दुई वर्ष नौ महिनाको तथ्याङ्क अनुसार अहिलेसम्म २ सय ४५ जना महिला, ४१ जना बालिका र १२ जना बालक गरी २ सय ९८ जना हराएको देखिन्छ ।
आर्थिक वर्ष ०७३÷०७४ मा एक सय ३० जना महिला, ३९ जना बालिका र १६ जना बालक गरी एक सय ८५ जना हराएको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा छ । जसमध्ये महिला २२, बालिका ५ र बालक १२ गरी ३९ मात्र फेला परेका थिए । एक सय ८५ जिल्लाबाट हराएको निवदेन परेकोमा ३९ फेला परे पनि १ सय ४६ अझै फेला परेका छैनन् ।
गत आर्थिक वर्ष ०७४÷०७५ मा एक सय ५२ जना महिला, १० जना बालिका र ४० जना बालक गरी दुई सय दुई जना हराएको तथ्यांकमा छ । जसमध्ये महिला ५३, बालिका १० र बालक ३५ गरी ९८ मात्र फेला परेका थिए । ९८ जना फेला परे पनि १ सय चार अझै फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार जिल्लाबाट हराएका महिला र बालिकाको संख्या धेरै छ । चालु आव ०७५÷०७६ को माघ मसान्तसम्म हराउनेको संख्या १ सय सात पुगेको छ । जसमा ६३ महिला, ११ बालिका र ७ बालक रहेका छन् । हराएका मध्ये २५ जना महिला, २४ बालिका र ४ बालक गरी ५३ फेला परेका छन् भने अन्य ४ समेत फेला परेको प्रहरीको तथ्यांकमा छ । माघ मसान्तसम्म १ सय ८ हराएको मध्ये निवेदन परेकोमा ५३ फेला परे पनि अझै ५६ को अवस्था अज्ञात रहेको छ ।
हराउनेमा महिला धेरै
उदयपुरमा हराएको भनिने मध्ये अधिकांश महिला र बालिकाहरु रहेका छन् । महिला तथा बालिकाहरु भागी विवाह गर्ने गरेको छ । दुई वर्ष नौ महिनाको तथ्याङ्कमा २ सय ४५ महिला अझै बेपता रहेको छ भने ४१ बालिका पनि फेला पर्न सकेको छैन् ।
हराएको भन्ने संख्या सबैभन्दा बढी संख्या महिलाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको महिला तथा बालबालिका सेवा केन्द्रका (महिला सेल) प्रमुख उमा गुरुङले बताईन । वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर जानाले तत्काल हराएको निवदेन आउँदा हराएको संख्यामा नाम दर्ता हुने गरेको उनी बताउँछन् । अलिहेसम्म २ सय ४५ महिला फेला नपरेको मध्ये हराउनेमा वैदेशिक रोजगारमा जाने पुरुषहरुको श्रीमति रहेको उनले बताईन् ।
त्यस्तै बालिकाहरुको हकमा उनीहरुले मोबाइल फोन, समाजिक संजाल लगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्न जान्छ ।

भेटिए प्रहरीमा खबर गर्दैनन्
परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको महिला सेल प्रमुख गुरुङले बताईन । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची लामो भएको हुन सक्ने गुरुङको भनाइ छ । ‘हराएको सूचीमा रहेका अधिकांश व्यक्ति वास्तवमा हराएका हुदैनन्’ महिला सेल प्रमुख गुरुङले आफ्नो अनुभव सुनाउँदै भनिन् । हराएको सूचीमा रहेका मध्ये अधिकांश आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेको सेल प्रमुख गुरुङ बताउँछन् । उनले भने, ‘हराएलग्त्तै परिवार निवेदन लिएर आउँछन् हामीहरुले पनि तत्कालै उनीहरुका साथीभाई आफन्तदेखि लिएर मोबाइलको कल डिटेल लगायतसम्म अनुसन्धान गर्दा पछि थाहा हुन्छ सम्बन्धित हराएको भन्ने व्यक्ति आफूखुशी घर छाडेर गएको ।’
यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको सेल प्रमुख गुरुङले बताईन । तत्काल सम्पर्क नआउँदा हराएको निवदेन दिएपश्चात् परिवारले हराएका व्यक्ति भेटे पछि प्रहरीमा जानकारी नगराउँदा हराउनेको संख्या बढी देखिने गरेको उनको बताईन् ।
किन हराउँछन् मानिस ?
हराउने मध्ये १६ देखि ३० वर्ष उमेर समूहका महिला बढी छन् । पछिल्लो समय पति विदेशमा भएका महिलाहरू हराउने क्रम बढेको छ । कतिपयले पतिले विदेशबाट पठाएको रुपैयाँ र जग्गा जमिन बेचेर पैसा समेत लिएर भागेका छन् । शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलना जस्ता कारणले गर्दा पनि मानिसहरू बेपत्ता हुने गरेको देखिन्छ ।
सामुदायिक कानून अनुसन्धान केन्द्र (सिएलआरसी) उपाध्यक्ष माया भण्डारीले महिला तथा बालबालिका हराउने संख्या बढ्दै जानु गम्भीर भएको बताए । हराउने क्रम बढ्नुमा प्रहरीले दिएको कारणबाहेक अरू पनि हुन सक्ने भन्दै भण्डारीले त्यसको खोजी हुनुपर्नेमा जोड दिए । मानव अधिकारकर्मी भरत खड्काले जिल्लाबाट मानिस हराउने क्रम बढ्दै जानु प्रहरी संगठन र जिल्लाकै लागि चुनौतीको विषय भएको बताए ।









