उदयपुर, उदयपुरमा एक साताअघि एक महिलालाई हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चौडण्डीगढी नगरपालिका ७ का स्थानीय ४५ वर्षिय विभा परियारलाई हत्या गरी फरार रहेका २१ वर्षिय उमेश खत्रीलाई लामिचौरिबाट प्रहरीले पक्राउ गरेको छ ।
इलाक प्रहरी कार्यालय बेल्टाराका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलका अनुसार गएको माघ २७ गते साँझ दाजुको घरमा बसिरहेकी परियारलाई खत्रीले रक्सी खान जाउँ भन्दै नजिकैको लाटीखोलामा लगेर हत्या गरेको आरोपमा खत्रीलाई पक्राउ गरिएको हो । ‘रक्सी खान जाँदै गर्दा बाटोमा सामान्य विवाद भएछ,’ उनले भने, ‘पक्राउ परेका खत्रीले परियारको घाटी थिची हत्याको अनुसन्धाबाट देखिएको छ ।’ खत्रीले परियारले लगाएको सलले घाटीमा कसेर हत्या गरेको बयानमा स्वीकार गरेको प्रहरी निरिक्षक पौडेलको भनाइ छ । हत्या गरेर फालेको अवस्थामा परियारको शव भोलिपल्ट वेवारिसे अवस्थामा खोलामा भेटिएको थियो । तर, हत्यारा फेला परेको थिएन । प्रहरीका अनुसार अनुसन्धानबाटै परियारको हत्या खत्रीले गरेको खुलेपछि पक्राउ गरिएको हो । हत्या गरिएकी परियारका ४ छोरा छन् । उनका श्रीमान् गोपाल परियारले गत बैशाखमा आत्माहत्या गरेका थिए ।









