काठमाडौं, चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन्। गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ।कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइरहेको छ।

हास्‍यकलाकार दिपकराज गिरीले व्यंग्य गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘लुट्‍नसम्म लुट कान्छा लुट्‍नसम्म लुट, धेरै बोले कारबाही हुन्छ चुप लागेर सुत’। उनो यो पोस्टमा धेरैले सरकारको यस कदमको विरोध गर्दै कमेन्ट गरेका छन्। केहीले राणा र राजाको भन्दा पनि क्रुर सरकारको संज्ञा दिएका छन्। भ्रष्टाचार मौलाइरहेको बेला यो गितले व्यंग्य गरेकोले उचित भएको अधिकांशले कमेन्ट गरेका छन्।

लोक दोहोरी प्रतिष्ठानका निर्वतमान अध्यक्ष चन्द्र शर्मा यथार्थपरक गित आउने क्रम बढीरहेको बेला यो गित अर्को उदाहरण भएको यसमा राज्यले लगाम लगाउनु उचित नभएको बताएका छन्। उनले भने, ‘राज्‍यलाई यथार्थ बताउने सिर्जनामा लगाम लगाउनु सरकारको कायरता हो। केही शब्दमा आपत्तिजनक भए परिवर्तन गर्न सकिन्छ।’

लुटन सम्म लुट कान्छा लुट्न सम्म लुटधेरै बोले कारबाहि हुन्छ चुपलागेर सुत ..good night!!

Posted by Deepak Raj Giri on Saturday, 16 February 2019

प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा बालुवाटारदेखि शितल निवाससम्म तरंग ल्याएको थियो।

गीतमा राष्ट्रपति र प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ। काम केही नगरेको, ठूला-ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे शनिबार दिउँसो छलफल भएको स्रोतले बतायो।

पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा लगाम लगाउन खोजिरहेको सरकारले यस गितमा प्रतिबन्ध लगाउन दबाब दिएपछि गायक शर्माले गित हटाएको जानकारी फेसबुकमार्फत दिएका छन्।

सरकारलाई किन यति भारी भयो एउटै गीत ?

सिर्जनामा सत्तालाई आत्थु–आत्थु पार्ने शक्ति हुन्छ वा त्यो ताप हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण पशुपति शर्माको लोक गीत ‘लुट्न सके लुट कान्छा’ बनेको छ ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भन्ने नारा अहिलेको सरकारले मात्रै होइन यसअघिका सरकारले पनि रट्दै आएका थिए । तर भ्रष्टाचार रोकिने होइन, भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चोखो रहन सकेन ।

राज्य कोषको दुरुपयोग, आफ्नो हितका लागि राज्य कोष खर्च गर्ने तथा तस्करी एवम् घुसकाण्डहरु बिस्तार हुँदै गए । यहि परिवेशलाई चित्रित गरेर पशुपति शर्माले व्यंग्यात्मक शैलीमा सिर्जना गरेको गीत थियो, ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईँदैन नेपालमै हो छुट’ ।

तर लुट र छुटको गाथाको रुपमा दर्शक–स्रोताले मन पराएको गीत सरकारका लागि भने गम्भीर आपत्ति र आफ्नो वास्तविकताको चित्रण बन्यो सायद । यहि कारण सरकारले पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगायो । गायक–सर्जक शर्मा युट्युबबाट गीत हटाउन बाध्य भए ।

भन्न त उनले परिमार्जन गरिएको गीत चाँडै ल्याउने भनेका छन् । तर अब आउँदा यो गीतमा व्यंग्य गर्न खोजिएका विषयहरु सायद ओझेलमा पर्ने छन् ।

तर सरकार एउटै गीतबाट आत्तालिएको जस्तो देखिएको विश्लेषण भने भएका छन् । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यो गीतबारे प्रधानमन्त्री निवास बालुवाटारमै छलफल भएको र हटाउन दबाब दिइएको बताइन्छ ।

पछिल्लो समय एकपछि अर्को भ्रष्टाचार काण्ड, तस्करी तथा बलात्कारका पीडक लामो समयसम्म पनि पक्राउ पर्न नसक्नुसहितका सामाजिक विकृति बढ्दै गएका बेला त्यसको चित्रको रुपमा गीत बनेको थियो । यहि गीत समाजको चित्र भन्दा पनि सरकारका लागि आफ्नो वास्तविकताको कारण बनेको देखिएको छ ।

गीतमाथि प्रतिबन्ध यसअघि पनि विभिन्न समयमा लाग्दै आएका हुन्, तर यसअघि प्रायः रेडियो नेपालले प्रशारणमा प्रतिबन्ध लगाउने गरेको थियो ।

यस्तै कलाकारलाई सार्वजनिक कार्यक्रममा गाउन वा प्रस्तुत गर्न नपाउने गरी रोक लाग्ने गरेको थियो । सम्भवतः यो पहिलो घटना हो, जसमा सीधै सरकारले गीतमाथि प्रतिबन्ध लगायो र सर्जक त्यसलाई हटाउन बाध्य भए ।

गीतमा प्रयोग भएका केही शब्दहरु असहज हुन सक्छन्, त्यसलाई सुधारका लागि भन्नु र भन्न खोजेका कुरालाई आफ्ना लागि सुझावका रुपमा लिनु सरकारको समझदारी हुने थियो । तर प्रतिबन्धले सरकार एउटै गीतबाट डराएको प्रष्ट देखिएको छ ।

स्मरण गर्नु पर्ने यो पनि छ कि, अहिले प्रतिबन्धित भएको गीतका सर्जक पशुपति शर्माले नै केही वर्षअघि गाएको ‘मलाई अमेरिका यहि’ गीत हो ।

यो गीत सरकारकै कति मन्त्रीहरुले नै आफ्ना कुरा बुझाउन र विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा प्रयोग गरेका थिए र अब पनि गर्ने छन् ।

तपाईको प्रतिक्रिया