उदयपुर/दसैं पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले कारबाही गरेको छ । मंगलबार विहान ट्राफिक पोष्ट जलजलेको सक्रियतामा यात्रुसंग बढी भाडा लिएको रकम फिर्ता गराउनुको साथै सवारी साधनलाई जरिवाना गराएका छन् ।
चाड पर्वका समयमा यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि भाडा फिर्ता गराएको हो । जलजले ट्राफिक प्रहरी पोष्टले एक बस र एक सुमोबाट गरी १६ जनाको यात्रुहरुबाट लिएको बढी भाडा फिर्ता गराएको ट्राफिक प्रहरी जवान गोविन्द पौडेलले बताए ।

ना.१ ज ६२४२ नम्बरको सुमोमा रहेको एक ८ वर्षिय बालक र बा.४ ख ५९२१ नम्बरको कृतिका डिलक्सबाट १५ जनाको बढी भाडा फिर्ता गराएको ट्राफिक जवान पौडेलले बताए । सरकारले तोकेको भाडा एक हजार भएपनि सवारी साधनले एक हजार तीन सय भाडा लिएको थियो । बालकलाई उध्रित गर्दै पौडेलले भने– ‘ट्राफिक अंकल मेरो भाडा एक हजार तीन सय लियो ।’ ८ वर्षिय बालकसंग तीन सय बढी भाडा लिएपछि सुमोलाई जरिवाना गरि बालकलाई तीन सय रुपैया फिर्ता गराउन सफल भएको ट्राफिक जवान पौडेलले बताए । यस्तै बसमा सवार १५ जनाको बढी भाडा कन्डक्टरले फिर्ता गरेको पौडेलले बताए । तोकिएको भन्दा बढी भाडा रकम लिएको भन्दै यात्रुबाट आएको गुनासोका आधारमा दुई वटा सवारीसाधनले लिएको बढी भाडा शुल्क रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएर सवारीसाधनलाई समेत कारबाही गरी चार हजार राजश्व संकलन गरिएको उनले बताए ।

पहिलो पटक भएकोले दुई हजार रुपैयाँका दरले जरिवानी गरी बढी भाडा लिने गाडीलाई छाडिएको उदयपुर जिल्ला ट्राफिक प्रमुख अमृत बहादुर कार्कीले बताए । कारबाहीमा परेका गाडीले पुनः बढी भाडा लिएको पाइएमा कडा कारबाही गरिने उनले बताए । बेल्टार, गाईघाटबाट काठमाडौंसम्म भाडा दर सरकारले एक हजार रुपैयाँ तोकिदिएपनि एक हजार तीन सयसम्म लिएर ठगी गर्दै आएका यात्रुहरुको गुनासो रहेको छ ।

यस्तै पहाडी रुटमा अटो रिक्सालाई चल्नमा प्रतिबन्ध लगाएको छ । साउने, खाँबु, रौता, मुर्कुची लगायतका रुटमा अटो रिक्सालाई चल्नमा रोक लगाएको ट्राफिक इन्चार्ज कार्कीले बताए । उनका अनुसार सवारी दुर्घट्ना न्यूनिकरण गर्न अटो टेम्पोहरुलाई पहाडी एरिया साउने, खाँबु, रौता, मुर्कुची लगायतका रुटमा जानमा रोक लगाईएको र नियम उलङ्घन गरी जबरजस्ति पहाडि एरिया तर्फ जाने चालकलाई अधिकतम जरिवाना गरिएको बताए ।









