उदयपुर, सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी–घुर्मी खण्डमा गरिने यात्रा दैनिक रुपमा जोखिमपूर्ण बन्दै गएको छ । जताततै भिर र जीर्ण बनेको साँघुरो सडकका कारण यात्रा जोखिम पूर्ण बन्नुका साथै सडक दुर्घटना समेत बढ्न थालेको हो ।
नेपाली सेनाले करिव १६ बर्ष अघि ८८ किलोमिटर लामो सिद्धिचरण राजमार्गको ट्रयाक निर्माण कार्य सम्पन्न गरी थप कामका लागि यो सडक सरकारलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणसँगै ओखलढुंगा तर्फको सडक कालोपत्रे गरिएको लामो समय भईसके पनि उदयपुर खण्डको सडक भने ज्यादै जीर्ण बनेको छ । १० बर्ष अघि सामान्य ओटासिल गरिएको कटारी– घुर्मी खण्डको सडकलाई त्यसपछिको समयमा सरकारी पक्षले चरम बेवास्ता गर्दा सडक जीर्ण र यात्रा जोखिपूर्ण भएको स्थानीयको भनाई छ ।
“दैनिक जसो दुर्घटना हुने गर्छन्” लेखानी कि विन्दा बस्नेतले भनिन्,“सडक अत्यन्त साँधुरो र जीर्ण छ ।” यो जीर्ण सडकबाट दिक्तेल, ओखलढुंगा र सोलुखुम्बुका लागि यात्रा गर्ने यात्रु तथा अन्य मालबाहक ट्रक आवत जावत गर्ने उनले बताइन् ।
सिद्धिचरण राजमार्गको माथिल्लो क्षेत्र महाभारत पहाडमा पर्छ भने कटारी भन्दा तल्लो क्षेत्र चुरे पहाडले ओगटेको छ । सवारी संचालनका दृष्टिले यी दुवै क्षेत्र जोखिममा पर्ने गर्छन् । कटारी– घुर्मी खण्डको साँघुरो र घुमाउरो कच्ची सडकका कारण यस खण्डमा बढी दुर्घटना हुने गरेको स्थानीय हर्देनीका टंक राउत बताउँछन् । सवारी साधनको क्षमता भन्दा बढी यात्रु चढाउँदा पनि यात्रा जोखिम पूर्ण रहेको उनले बताए ।
“हामीले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई पनि सडकको समस्याका बारेमा पटक पटक जानकारी गरायौं, विगत १० वर्ष यता अहिलेसम्म करिव ३ दर्जन भन्दा बढी यात्रुको दुर्घटनामा ज्यान गई सकेको छ ।” राउतले भने, “तर उहाँहरुबाट आजसम्म कुनै काम भएन ।” ओखलढुंगा खण्डको सडक कालोपत्रे भएको लामो समय बिते पनि उदयपुर खण्डको खडक भने दिन प्रतिदिन जीर्ण र जोखिमपूर्ण बनिरहेको उनको भनाई छ ।
हिँउदमा धुलो र वर्षामा हिलोले कामै नलाग्ने अवस्थामा पुगेको यो सडक भएर मात्रै ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाको पश्चिमी क्षेत्रको यात्रा गर्न सकिन्छ । ओखलढुंगा र सोलुखुम्बु जिल्लालाई तराइसँग जोड्ने यो मात्रै एउटा सडक भएपनि यसको मर्मत र निर्माणमा कुनै निकायले ध्यान नदिँदा सवारी साधन संचालन तथा दैनिक उपभोग्य बस्तु दुवानीमा समस्या उत्पन्न भएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया