उदयपुर, उदयपुरमा १६ प्रतिशत भन्दा बढी विरामीहरुको प्राथमिक उपचार परम्परागत शैली अर्थात धामी झाक्रीबाट उपचार गर्ने गरेको तथ्याङ्क फेला परेको छ । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरका विपिएच पाँचौ सेमेष्टरका विद्यार्थीहरुले गरेको अनुसन्धानबाट यो तथ्य फेला परेको हो ।
त्रियुगा नगरपालिका ३ नं. वडा र १० नं. वडामा गरिएको समुदाय स्वास्थ्य निरुपण सम्बन्धीको अनुसन्धानले सार्वजनिकीकरणमा सो तथ्याङ्क प्रस्तुत गरेको हो । त्रियुगा नगरपालिका वडा नं. ३ मा ३ सय र वडा नं. १० मा ३ सय घर घुरीमा गरेको सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो । विरामी हुँदा पहिले धामी झाक्रीलाई देखाउने गरेको यस तथ्याङ्कले देखाएको हो । प्राथमिक उपचारको पहुँच हुँदा हुँदै विपन्न, गरिव तथा दलित समुदायका व्यक्तिहरुलाई प्राथमिक स्वास्थ सेवा निःशुल्क हुनेसम्मको जानकारी गराउन नसक्दा उनीहरु धामीझाक्रीको भर पर्नु परेको तथ्याङ्कले देखाएको छ ।
यस्तै निजी क्लिनिकमा १६ प्रतिशत र सरकारी अस्पतालमा ६५ प्रतिशत विरामीहरुलाई पुर्याउने गरेको छ भने तीन प्रशितलले आफ्नै घरमा उपचार गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कमा ३७ प्रतिशत मानिसलाई एड्स बारे ज्ञान नभएको, ८ प्रतिशतलाई डायरिया, २१ प्रतिशतलाई निमुनिया, २५ प्रतिशतलाई टिवी विरामीको बारेमा थाह नभएको देखिन्छ ।
६० प्रतिशत मानिसको २० वर्षमुनी विवाह भएको तथ्याङ्कले देखिन्छ भने ७ प्रतिशत महिलाले गर्भवती भएको समयमा आइरन चक्की प्रयोग नगरेको पाइएको छ । ९२ प्रतिशत महिलाले मात्रै गर्भवती भएको बेला गर्भ जाँच गरेको पाइन्छ भने १२ प्रतिशत महिलाले सुत्केरी भएको समयमा पोषणयुक्त खानेकुरा समेत खान नपाइएको यस तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कले २ प्रतिशतको घरमा चर्पी नभएको देखाएको छ । जसमा त्रियुगा नगरपालिका ३ नं. वडामा तीन सय घरधुरी सर्वेक्षणमा ३ जना र त्रियुगा गरपालिका १० मा ९ जनाको घरमा शौचालय नभएको देखाएको छ । यस्तै ८६ प्रतिशत भन्दा बढीले आधुनिक र १२ प्रतिशतले खाल्डे शौचालयको प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
यस्तै त्रियुगा नगरपालिका १० मा ३ जनाले खोलाको पानी खाने गरेको तथ्याङ्कले देखाएको छ भने ५२ प्रतिशत भन्दा बढीले हाते कलको पानी खाने गर्ने गरेको छ । ७२ प्रतिशत भन्दा बढीले विना सुधिकरण पानी खाने गरेको पनि तथ्याङ्कले देखाएको छ । यस्तै ८ प्रतिशत मानिसले रोडमा फोहर फ्याक्ने गरेको छ भने ७ प्रतिशतले फोहर खोलामा लगेर फ्याक्ने गरेको छ । यस्तै त्रियुगा नगरपालिका ३ र १० मा ८ प्रतिशत भन्दा बढी मानिस निक्षर रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कले देखाएको डाटा तथा कमि कमजोरीहरुलाई जनस्वास्थ्य प्रति सचेत हुँदै त्रियुगा नगरपालिकाले कमी कम्जोरीलाई आगामी बजेटबाट सम्बोधन गर्न आशा लिएको कोशी हेल्थ एण्ड साइन्स क्याम्पसका सहायक प्रध्यापक जनस्वास्थ्य विज्ञ सूर्य नारायण चौधरीले बताए । उनले प्राथमिक स्वास्थ्य उपचारबाट कोही पनि आर्थिक, सामाजिक रुपमा कोही पनि वञ्चित हुन नपरोस भनी बताएका थिए । सहायक प्रध्यापक चौधरीले नगरपालिकाको वडाहरुमा स्वास्थ्य चौकी, विद्यालय स्तरमा स्वास्थ्य सम्बन्धी पढाई हुनु पर्ने, सर्ने तथा नसर्ने रोगको निदानको लागि सवै एक जुट हुनु पर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथिमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, विशेष अतिथिमा उपमेयर देवी कुमारी चौधरी, वडा नं. ३ का वडा अध्यक्ष अवधेश प्रसाद चौधरी र वडा नं. १० का वडा अध्यक्ष प्रकाश खड्काको रहेको थियो । कार्यक्रमको अध्यक्षता कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरका विपिएच पाँचौ सेमेष्टरका विद्यार्थी प्रिति यादवले गरेकी थिईन भने संचालन सोही क्याम्पसका विद्यार्थी रविन्द्र कुमार महतो र कृति गिरीले गरेका थिए ।
कार्यक्रमको आयोजना कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगर, समन्वय नवप्रभात समाज नेपाल र सहयोग त्रियुगा नगरपालिका वडा नं. ३ र वडा नं. १० ले गरेको थियो ।

तपाईको प्रतिक्रिया