उदयपुर, उदयपुरमा एक युवकले आफ्नै छात्तीमा बन्दुक पड्काउँदा अस्पताल भर्ना भएका छन् । श्रीमतीसँग घरयासी विवाद भएपछि एक युवाले घरमै राखेको भरुवा बन्दुक आफ्नै छात्तीमा पड्काउँदा गम्भीर घाइते भएका छन् । रौतामाई गाउँपालिका ५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राईले घरमै भएको भरुवा बन्दुक अफ्नै छात्तीमा हानी आत्महत्या प्रयास गर्दा गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार घरमा सामान्य रूपमा श्रीमतीसँग भनाभन हुँदा आवेगमा आई आत्महत्याका लागि भरुवा बन्दुक छात्ती तिर फर्काई पड्काउँदा राई अहिले गम्भीर घाइते भएका हुन् । शनिबार दिउँसो राईले बन्दुक आफ्नै छात्तीतिर फर्काएर पडकाएका हुन् । ‘घाइते राईको छात्तीमा ठूलो घाउ छ ।’ एसपी राईले भने, ‘घाइते राईलाई स्थानीयले उपचारार्थ जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।’ भने बन्दुक प्रहरीले बरामद गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ । ग्रामीण भेगमा शिकार खेल्न स्थानीय घरमा अवैधानिक रूपमा राखेको भरुवा बन्दुकका कारण विभिन्न प्रकारका घटना हुँदै आइरहेका छन् । गाउँघरमा राखिएको भरुवा बन्दुक नियन्त्रण गर्ने वेला आएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया