उदयपुर, देशको विकास निर्माणको काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक रहेको उदयपुरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महोत्तरीले शुक्रबार सदरमुकाम गाईघाटमा जिल्लाका सबै स्थानीय तहका वडाध्यक्षहरुको सहभागितामा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक कार्यक्रममा वडाध्यक्षहरुले विकास निर्माणमा आयोग वाधक बन्दै गएको आरोप लगाएका हुन् ।
हचुवाका भरमा निवेदन दर्ता गरी कारवाही प्रकृया अगाडी बढाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादन माथिको विश्वनियतामा प्रश्न चिन्ह खडा भएको उदयपुरका वडाध्यक्षहरुले बताएका हुन् ।
सहभागि त्रियुगा नगरपालिका वडानं १६ का वडाध्यक्ष मानबहादुर राईले योजना नपरेको, चुनावमा पराजय भोगेको र अन्य व्यक्तिगत पुर्वाग्रहका भरमा विकास निर्माणमा नै वाधा पुग्ने गरी अख्तियारमा उजुरी दिएर कामहरु प्रभावित बनाएको गुनासो गरेका हुन् । उनले गतल भए त्यसको भागेदार सम्बन्धित निकाय र व्यक्ति बन्न तयार छ, तर पुर्वाग्रही ढंगले गतल झुट्टा मुद्दा दिनेलाई कारवाही हुने कि नहुने प्रश्न गरे ? सहभागि चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राईले सचेतनाले मात्र भ्रष्टाचार नियन्त्रण गर्छु भन्नु भन्दा पनि विकसित मुलुकमा भएका प्रयासलाई हेरेर प्रविधिबाटै नियन्त्रण गर्ने कार्यको खोजी गर्न जरुर रहेको बताए ।
त्यस्तै चौदण्डीगढी नगरपालिका वाडनं ९ का वडाध्यक्ष प्रकाश राउतले राजनीतिक पुर्वााग्रहका आधारमा आफ्नो नगरपालिकामा भ्रष्टार भएको बताए । उनले भने, ‘म वडाध्यक्ष, तर मलाई नै थाहा नदिई भित्र् भित्रै अनुगमन र निकासाका लागि उपमेयरले सिफारिस गर्नु भएको छ, यो भ्रष्टाचार हो की हैन् ।’ त्यसअघि उनले थपे, ‘तीन लाख मुनीका योजनाको सिफारिस, अनुगमन आफुहरुलाई थाहा हुन्छ, त्योभन्दा माथि जानकारी हुन्न्, जहाँ काममा अनियमितता भएको छ, भुक्तानी नदिन आग्रह गर्दा झन छिटो दिने चलनको विकास भएको छ ।’
कटारी नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठले वडाध्यक्षलाई कार्यालयमा आएका पाहुनालाई चिया खुवाउने समेत अधिकार हुँदैन्, सबै प्रमुख प्रशासकिय अधिकृत र लेखापालहरुलाई हुन्छ, त्यसैले यो कार्यक्रम आफुभन्दा पनि उनीहरुलाई दिँदा राम्रो हुने बताए । उदयपुरगढी १ का वडाध्यक्ष खेदबहादुर मगरले अख्तियारको आबश्यकता भन्दा बढि हाउगुजी भएको बताए । ठूलालाई केहि नहुने सानालाई घाँटी निमोठने प्रवृतीको अन्त्य हुनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले जनप्रतिनिधिहरु जिम्वेवार ढंगले प्रस्तुत भएमात्र सरकारले लिएको लक्ष्य सुखी र समृद्ध नेपालको परिकल्पना पुरा हुने बताए । त्यसैगरी सहभागिले उठाएका प्रश्नको जवाफ दिँदै आयोगका सचिब महेश्वर न्यौपानेले राजनीतिक प्रतिवद्धता, भडकिलो र महंगो जीवनशैली भ्रष्टाचारको खुड्किलो भएको बताए ।
त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भ्रटाचार मुक्त नगरपालिका बनाउने परिकल्पनाका साथ सुशासनका क्षेत्रमा नगरपालिकामा कामहरु अघि बढाइएको बताए । प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जनताका पहिलो काम ठोकिने निकाय स्थानीय तहका वडा कार्यालय नै भएकाले सफा दिलले काम गरिदिने हो भने भ्रष्टाचार त्यसै न्युनिकरण हुने बताए । उनले हचुवाका भरमा गरिने सिफारिस, जिम्वेवार नबन्ने प्रवृतिकाकारण जनप्रतिनिधिहरु कानुनको कडघरामा उभिन बाध्य भएको बताए ।
आयोगका महोत्तरी कार्यालयका प्रमुख शिवराम न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै कानुनी व्यवस्थाको फितलो कार्यान्वयनकाकारण भ्रष्टाचारलाई प्रोत्साहन पुगेको बताए । उनले स्थानीय तहमा प्राकृतिक स्रोत, साधनको दोहोन, सवारी साधनको दुरुपयोग, आफुअनुकुल कर्मचारी नियुक्ती नै भ्रष्टाचार भएको बताए ।
उनले शुसासन प्रवद्र्धनमा स्थानीय तहले नीतिगत सुधार र मापदण्डको पालना, आर्थिक अनुशासन, सदाचार र पारदर्शिता कायम गर्ने, सार्वजानिक सेवा प्रवाहलाई सरल बनाउने, भुमि व्यवस्थापन तथा सार्वजानिक सम्पतीको संरक्षण गर्ने र आयोगसँग सहकार्य गरी अनुसन्धान कार्यमा सहयोग गरे मात्र भ्रष्टाचार न्युनिकरण हुने बताए ।
न्यौपानेले आयोगले भ्रष्टाचार न्युनिकरणका लागि दण्डात्मक, निरोधात्मक र पवद्र्धनात्मक कार्यलाई मुल मन्त्र बनाई उजुरी दर्ता, अनुसन्धान, अभियोजना, विभागिय कारवाही, अशुलका लागि मुद्दा दायर, आचारसंहिता कार्यविधी निर्माण, सामुदायिक शिक्षा, अनुसन्धान तालिम, प्रचार प्रसार र सहकार्यको नीतिलाई अवलम्बन गरेको बताए ।

तपाईको प्रतिक्रिया