उदयपुर, कुटपिटमा संलग्नलाई पक्राउ नगरको भन्दै बेल्टारका स्थानीयहरुले इलाका प्रहरी कार्यालय बेल्टार घेराउ गरेका छन । चौदण्डीगढी नगरपालिका वडा नम्बर २ का स्थानीय लोकबहादुर मगरलाई कुटपीट गर्ने दिपेन्द्र राईलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी कार्यालय घेराउ गरेका हुन । वडा कार्यालय भवन बनाउने क्रममा सालको रुख काटेको विषयमा राईले कुटपिट गरेको मगरको आरोप छ । कुटपिटबाट घाईते मगरको हातको औला भाचिएको, टाउकोमा चोट लागेकोले विराटनगर अस्पतालमा उपचार भई रहेको लोकबहादुरकी श्रीमती चलित्र मगरले बताईन । सोमबार दिउसो ३ बजेको समयमा दिपेन्द्र राईले बाटो छेकेर कुटपिट गरेको र घाईतेको उपचार यहा सम्भव नभएपछि विराटनगर लगिएको श्रीमती चलित्र मगरले भनिन । ‘हिजो दिउसो मेरो श्रीमानलाई कुटपीट भयो, कुटपीट हुने वित्तिकै प्रहरीलाई किटानी जाहेरी दियौ तर प्रहरीले न जाहेरी दर्ता गर्छ न मान्छे नै पक्राउ गर्छ ।’ लोक बहादुरकी श्रीमती मगरले भनिन ‘मेरो श्रीमान विराटनगर अस्पतालमा भर्ना हुनु भएको छ, तर यहाँ आएर धम्की दिन्छ ।’ लोक बहादुरको श्रीमती उजुरी हाल्यो भनेर आफुलाई पनि आक्रमण हुनसक्ने भएकाले आफन्तको घरमा बसेका छन । बेल्टार झोडापाटाका स्थानीयहरु दिनभर ईलाका प्रहरी कार्यालयमा आई शान्ति सुरक्षा माग गरेर धर्ना दिएका थिए । कुटपिटमा संलग्न संग प्रहरी मिलेकाले जाहेरी दिदा पनि प्रहरीले पक्राउ नगरेको पिडित परिवारको आरोप छ । कुटपिटमा संलग्न दुवै पक्षले जाहेरी लिएर आएपछि कार्वाही गर्न समस्या भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गंगा पौडलेले बताए । ‘वडा कार्यालयको भवन बनाउने विषयमा विवादमा हात हाला हाल भएको हो ।’ प्रहरी निरिक्षक पौडेलले भने ‘सामान्य झगडा हो जाहेरी दर्ता गर्ने किसिमको होईन ।’ तर स्थानीयहरुलाई प्रहरी निरिक्षक पौडेलले जस्ले जे जाहेरी लिएर आउछ त्यसलाई दर्ता गर्नु पर्छ भन्ने कानुन नभएको भनेर फर्काएका थिए । स्थानीयले दिनभर इलाका प्रहरी कार्यालयमा धर्ना दिदा प्रहरी निरिक्षक पौडल कार्यालय बाहिर थिए । दिउसो ४ बजे तिर स्थानीय नेताको मोटरसाईकलमा पछाडी बसेर कार्यालय आएका निरिक्षक पौडेलले मैले मान्छे नियन्त्रणमा लिन पठाएको तर फेला नपरेको जवाफ दिएका थिए । स्थानीयले मान्छे फेला पर्दैन भने जाहेरी किन दर्ता नगरेको भनेर प्रतिपश्न गर्दा भोली दर्ता गर्ने भनेर टारेको चौदण्डीगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । कुटपीट भएको छ, कुटपीट गर्ने व्यक्ती गाउँमा बसेर धम्की दिन्छ, प्रहरीले उजुरी दर्ता गर्न मान्दैन, कसरी हुन्छ शान्ति सुरक्षा ? वडा अध्यक्ष सुवेदीले प्रतिप्रश्न गरे । इलाका प्रहरी कार्यालय घेराउबारेमा जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले कुटपिटमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने ‘मैले कुटपीट गर्नेलाई पक्राउ गर्न भनेको छु, अब कुटपीट गर्नेलाई प्रहरीले पक्रदैन भने त्यही प्रहरी अधिकारी जवाफदेही हुन्छ ।’









