मेयर सरुवा गरिदिने अभिव्यक्ति सेलाउन नपाउँदै माननीय गेलालले वास्तविकता नबुझि फेसबुकमा लेख्दा फेरि चिप्लिए
उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ३ सय ३१ रुपैया सरकारले ऋण उपलब्ध गराएको छ । अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगानी तथा जमानत शाखाले सो ऋण उपलब्ध गराएको हो ।
उद्योग पुनः सञ्चालन गर्न सरकारले दिएको भनिएको ऋणबारे फरक फरक पत्र सार्वजनिक भएपछि जिल्लाबासी अन्यौलमा परेका छन् । सार्वजनिक ऋण व्यवस्थापन महाशाखाले ऋण दिएको पत्रमा बजेट रकम अंक र अक्षरमा फरक पाइनुका साथै चलानी नं. पनि फरक भएको अर्को पत्र सार्वजनिक हुनुले जिल्लाबासी मात्र नभएर उद्योगकै कर्मचारी पनि अन्यौलमा परेका थिए ।
उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पारशमणि गेलालले फेसबुक मार्फत मंगलबार साँझ एक पत्र सार्वजनिक गर्दै उद्योग सञ्चालनका लागि सरकारले ७४ करोड ९७ लाख ३ सय ३१ रुपैँया ऋण दिएको उल्लेख छ । केहि समय मेयर सरुवा गरिदिने अभिव्यक्ति दिएका सांसद गेलाल सो अभिव्यक्ति सेलाउन नपाउँदै वास्तविकता नबुझि फेसबुकमा लेख्दा फेरि चिप्लिएका छन् ।
सांसद गेलालले फेसबुक स्टाटसमा ‘‘उदयपुर सिमेन्ट उद्योगलाई ऋण लगानी रकम रु.७४,९७,००,३३१/- छुट्याईएको छ । नेपाल सरकार माननीय अर्थ मन्त्री स्वर्णिम वाग्ले ज्यु लाई हार्दिक धन्यवाद । सार्वजनिक ऋण ब्यबस्थापन कार्यालय, लगानी तथा जमानत शाखा त्रिपुरेश्वरलाई बिशेष धन्यवाद ऋण लगानिको लागी ।’’ सांसद गेलालले सार्वजनिक गरेको अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, लगानी तथा जमानत शाखा, त्रिपुरेश्वरको पत्रमा रकममा अंक र अक्षरमा फरक देखिएको छ । पत्रमा उल्लेखित रकमको अंकमा ७४,९७,३३१ र अक्षरमा चौरहत्तर करोड सन्तानब्बे लाख तीनसय एकतिस रुपैँया भनेर उल्लेख छ । तर सांसद गेलालले अंकमा भएको रकमलाई ९७ हजार पछि दुई वटा शुन्ना थप गरेर पोष्ट गरेको छ ।
कार्यालयका लेखा अधिकृत गुरुदत्त शर्मालाई प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति उल्लेख भएको असार ३० गतेको मितिमा पत्र संख्या ०८२/८३, चलानी नं. १६३ को उक्त पत्रमा उक्त ऋण तमसुकमा आधिकारिक दस्तखत गर्ने पदाधिकारी र साक्षी बस्ने कर्मचारी अख्तियारनामासहित कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । सो पत्रमा रकमको अंकमा ७४,९७,३३१ र अक्षरमा चौहत्तर करोड सन्तानब्बे लाख तीन सय एकतिस रुपैया उल्लेख छ ।
पुनः सोही व्यहोराको अर्को पत्रमा असार ३० गतेको मितिमा पत्र संख्या ०८२/८३, चलानी नं. १६४ मा रकमको अंकमा ७४,९७, ३३१ र अक्षरमा चौहत्तर लाख सन्तानब्बे हजार तीन सय एकतिस रुपैया रहेको पाईयो ।
यस विषयमा अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगानी तथा जमानत शाखा त्रिपुरेश्वर काठमाडौंका राजश्व उपसचिव तथा सूचना अधिकारी मोहन सिंह बस्नेतका अनुसार यस शाखाले ७४ लाख ९७ हजार ३ सय ३१ रुपैयामात्र ऋण तमसुक लिखतमा हस्ताक्षरण गर्न र साक्षी बस्ने कर्मचारीको लागि पत्रचार गरिएको बताए । उनले यत्रो ठूलो रकम होइन चुन ढुंगा खानीको नविकरण वापत उद्योग संग पैसा नभएपछि सो ऋण स्वीकृति भएकोले पत्रचार गरिएको बताए । उनका अनुसार ७४ लाख ९७ हजार नै हो तर पत्र फरक पर्न गएकोले पुनः सच्याएको पठाएको पत्र नै आधिकारिक भएको बताए ।
यस विषयमा उसिउलिका प्रशासन महाशाखा प्रमुख गम्भीरजंग खत्रीले पत्रबारे आधिकारिकता जाँच्न उद्योगको कर्मचराी टोली सहित अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पुग्दा चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ३ सय ३१ रुपैया ऋण दिने रहेछ । सो रकम एक पैसा पनि तलमाथि नभई सिधै सरकारको खातामा जम्मा हुने रहेछ खत्रीले बताए ।









