उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ नम्बर वडाको सिमानामा पर्ने सेतीढुंगा खहरे खोलामा बुधबार विहान ट्याक्टर दुर्घटना हुँदा चालक चालकको घटना स्थलमै मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका १ बस्ने स्थानीय ३२ वर्षिय हिमाल राईको मृत्यु भएको छ । म. प्र. ०१९००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा उनको मृत्यु भएको हो ।
कात्तिकेबाट ढुङ्गा लोड गरी १ नं. वडा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा खहरे खोलाको उकालो र भिरालो कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएपछि अनियन्त्रित हुँदा पछाडि सरेर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिएको थियो । ट्याक्टर पल्टिदा भाग्न नपाएका चालक राईको घटनास्थलमै मृत्यु भएको र सहचालक अन्दाजी २७ वर्षिय प्रदिप राई सकुसल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय लिम्चुङबुङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।









