रामपुर — बेलका नगरपालिकामा जारी प्रथम अन्तर–माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आइतबार बेलका–६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो ।
फाइनल खेलमा कोशी मा.बि. रामपुरले जनता नमुना मा.बि. गुरुङचौरीलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको थियो।
बिजेता टिमले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल किपर कोशी मा.वि.का सन्जु राई, उत्कृष्ट डिफेन्डर प्रबिन तामाङ, हाई स्कोरर हिमाल मगर रहेका छन् । यस्तै, जनता नमुना मा.वि.का अस्बिन थापा उत्कृष्ट मिडफिल्डर घोषित भए ।
कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई कदरपत्र, खेल प्रशिक्षकहरूलाई मायाको चिनो, तथा अनुशासित विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ। खेलकुद शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै जरुरी रहेको बताउनुभयो ।
नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राईको अध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की लगायत अतिथि निमित्त प्रमुख रबिकिरण आचार्य, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षा शाखा प्रमुख साथै कर्मचारीहरु, शिक्षक, बुद्दिजिबी, सुरक्षाकर्मी, पत्रकार, बिधार्थी लगायत खेलप्रेमीहरुको रंगशालामा भरीभराउ उपस्थिति रहेको थियो ।