सुखिलाल चौधरी,उदयपुर, माघ ९, पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र अचानक बढेको चिसोले उदयपुरको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र सिमसिम पानी पर्न थालेपछि उदयपुरका मुसहर बस्ती नराम्ररी प्रभावित भएको छ ।
चिसो हावा र सिमसिम पानीले स्थानीय मुसहर समुदायका केटाकेटीहरु र युवाहरु पतकर, दाउराको खोजीमा निस्केका छन भने बुढाबुढी आगो तापेर दिन विताई रहेको छ । यस्तै केटाकेटीहरु विभिन्न किसिमको खेलहरु खेलेर आफ्नो जिउ न्यानो गरिरहेको देखिन्छ । मुसहर समुदायमा विछाउने र ओढने कपडा नहुँदा परालको ओछ्यान, गुन्द्री विछाएर रहने गरेको छ । मुसहर समुदायका अधिकांश मानिसहरु रातभरी जागा बसेर रात काटिरहेको त्रियुगा नगरपालिका ९ का लालो सदाले बताईन । उनका अनुसार सा–साना केटाकेटीहरुलाई लगाउने कपडा नहुँदा दिसा पिसाव गर्दा पहिलेकै कपडालाई आगोमा सेकाएर लगाई दिने गरेको बताईन् । उनका अनुसार स्थानीय सरकारले खान नदिएपनि राम्रोसंग सुत्नको लागि न्यानो कपडा उपलब्ध गराई दिनु पर्ने बताईन् ।


चिसोका कारण जिल्ला अस्पताल बोक्सेमा बिरामीको चाप बढेको छ । चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । जिल्ला अस्पताल बोक्से, निजी क्लिनिक तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । दुधे बालकदेखि ६० बर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतको प्रकोपबाट पीडित भएका छन । पछिल्ला दुई दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ ।
चिसोले बिरामी परेका दैनिक करीब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पालका प्रमुख विष्णु बहादुर बस्नेतले बताएका छन् । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने सर्वसधारण पनि प्रभावित भएका छन् । बढेको चिसोको कारण न्यानो कपडा पसलमा भीड लाग्न थालेको देखिएको छ । सर्वसधारण आगो तापेर बस्न थालेका छन् ।
चिसोको कारण जनजीवन तथा सर्वसाधारण गरीब, विपन्न बस्तीका चोकमा आगो बाल्न थालेका छन् । यस्तै त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले यस वर्ष पनि गरिव, दलित, सिमान्तकृत, मुसहर, डोम, चमार समुदायको पहिचान गरेकोले यस्तो समुदायको लागि दाउरा तथा न्यानो कपडा कम्मलको व्यवस्था गर्ने बताए । उनका अनुसार विपन्न गरिव परिवारलाई दाउरा उपलब्ध गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएको बताए । उनका अनुसार चिसोको कारणले लाग्ने रोगको लागि स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा औषधि व्यवस्था गरिएको बताए ।

तपाईको प्रतिक्रिया