उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो ।
उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर परिक्रमा गर्दै पुष्प विष्टी गरी गरिने मेला महोत्सव व्यवस्थान समितिका संयोजक प्रदिप देउजाले जानकारी दिए । उनका अनुसार उदयपुर एक्स्पो माघ ११ गतेबाट शुभारम्भ भएपनि औपचारिक उद्घाटन नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकाश सरण महतबाट १४ गते गरिने छ ।

“कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागिएको हो ।

‘उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ । यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ मेला संयोजक देउजाले । उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरि, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

विदेशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उदयपुरलाई पर्यटन, कृषि उद्यमलाई व्यापारको कोशेढुङ्गा र शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ ।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ । एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्न आयोजना गरिएको संयोजक देउजाले बताए ।

कृषि प्रदर्शनी, पशुधन प्रदर्शनी, सूचना प्रविधिको प्रबद्र्धन, विभिन्न जातजातिको नेपाली संस्कृति र परम्पराको राष्ट्रिय स्तरको प्रदर्शनी, खाना परिकार महोत्सव पनि हुने आयोजकले जनाएको छ ।महोत्सवमा उदयपुर, सिरहा, सप्तरी, सुनसरी सहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी २ लाखा भित्राउने लक्ष्य लिइएको जनाएको छ । महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खाना परिकारलाई प्रवद्र्धन गर्न फुड फेस्टिवल पनि समावेश गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन १/१ जनालाई एन्ड्रोइड मोबाइल र अन्तिम दिन बजाजको पल्सर मोटर साइकल जित्ने अवसर प्रदान गरिने छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्ला स्तरीय युगल गीत प्रतियोगिता, साहित्य (कविता, निवन्ध, गजल) प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । हेलिकोप्टर उडान, रामाइलो मेला (बाल मनोरञ्जन पार्क), वाटर फाउन्टेन, सेल्फीजोन, भलिवल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।

हरेक नागरिकको जिम्मेवारी दुव्र्यसन विरुद्ध खबरदारी भन्ने नाराका साथ यस उदयपुर महोत्सवमा पोष्टर, पम्प्लेट, ब्रोसरका साथै जनचेतना मुलक प्रचार सामग्री तयार गरी स्टल समेत राखी जनचेतना एवं परामर्श सेवा कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।

एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ८ः०० बजेसम्म संचालन हुनेछ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई परिचय पत्रको आधारमा प्रवेश निःशुल्क गरिने छ ।

स्टलमा व्यपारिक फर्म कम्पनी, भाँडाकुडा, खाँद्यबस्तु, रेस्टुरेन्ट व्यवसाय, निजी अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, फ्लोरिकल्चर, हस्तकला उद्योग, मनि एक्सचेन्ज, आईसक्रिम उद्योग, शैक्षिक संस्था परामर्श, बैंक तथा बित्तिय संस्था, भोजनालय, अटोमोवाईल, रेडिमेन्ट गार्मेन्टस, कृषि, जडीबुटीलगायत बिभिन्न गरी २५ प्रकारका स्टल व्यवस्थापन हुने आयोजकले जनाएको छ ।उदयपुर एक्स्पो २०८० हुने स्थलको शिलान्यास माघ १ गते त्रियुगा नदी किनारमा सम्पन्न भईसकेको छ भने महोत्सवमा २ सय बढी स्टल हुने छ । महोत्सवमा आन्तरिक तथा बाह्य गरि २ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया