उदयपुर । उदयपुरका तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् ।
विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो ।
विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, विशाल सुन्दास, माधवप्रसाद खतिवडा, पुष्पराज सिग्देल र लोकेन्द्र कार्कीलाई आरोपबाट सफाइ दिएको हो ।
आचार्यविरुद्ध ९ लाख ९० हजार ५ सय, सुन्दासविरुद्ध ७२ हजार, खतिवडाविरुद्ध ३ लाख १४ हजार, सिग्देलविरुद्ध एक लाख ७६ हजार र कार्कीविरुद्ध ७८ हजार बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असोज १२ गते विशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो ।