उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आईतबार बेलुका ७ः१५ बजेको समयमा भएको आगलागीमा दुई करोड बढी क्षती भएको छ । बजार स्थित त्रियुगा नमुना माविको भवन पछाडी सोही विद्यालयको सटरहरुमा आगो लागेका थिए । आगो लाग्दा ५ ओटा पसलहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।
यता विद्यालयको १० ओटा सटरहरु पनि जलेको छ । उदयपुर प्रहरीका अनुसार विद्यालयको भवन र ५ ओटा पसलको मात्रै २ करोड १४ लाख ५० हजार बराबरको क्षती पुगेको छ । राज अटोको ७० लाख, महालक्ष्मीको ३० लाख, राम उद्गारको अढाई लाख, इजिकुलको ८ लाख, पण्डित पानको ५ लाख गरी १ करोडा १४ लाख ५० हजार क्षती पुगेको छ भने १० ओटा स्कुलको सटरमा १ कारोड क्षती भएको छ । यस बाहेक अन्य पसल होटलहरुमा पनि क्षती पुगेको प्रहरीले जनाएको छ ।
नर सिंहको १५ लाख, किरण होटलको १५ लाख, शाही होटलको ५० हजार, कोशेली घरको २० हजार र चाँदनी साईकलको ६० हजार गरी ३१ लाख ३० जम्मा २ कारोड ४५ लाख ८० हजार बराबरको धनमालमा क्षती पुगेको हो । आगलागीका कारण बिद्युत सर्ट भएको जनाईएको छ ।

राजु ठाकुरले सञ्चालन गरेको मोटरसाईकल वर्कसपमा विद्युत सर्ट भएर भएको आगो अन्यत्र संक्रमण हुन नदिन सो लाईनको दक्षिणतर्फ शाही होटलसम्म बीचका पसलहरु स्काभेटरले भत्काइएको थियो । ती पसलहरु नभत्काउँदा धेरै पसलमा आगो लागेर क्षति हुनसक्ने खतरा बढेपछि स्काईभेटर प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ ।
आगो निभाउन तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथै त्रियुगा र चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाबाट दमकल झिकाएर स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।
त्रियुगा नगरपालिकाको दमकलमा आवश्यक भन्दा कम पानी भएकोले आगो निन्त्रण गर्न समय लागेकोले अन्य पालिकाको दमलक मगाउनु परेको स्थानीयहरुको आरोप रहेको छ ।

तपाईको प्रतिक्रिया