उदयपुर– मलद्वारमा लागुऔषध बोकेर हिडिरहेका पाँच जना युवालाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका–६, बेल्टार बजारबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय बिनोद राई, ३२ वर्षीय मनोज राई, ३२ वर्षिय प्रबेश चौहान, ३२ वर्षीय बिदुर राई र ३० वर्षीय बिशाल राई पक्राउ परेका हुन । उनीहरु सवैको मलद्वारबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीले जनाएको छ ।

बिनोदको मलद्वारबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल गरी १० एम्पुल, बिदुरको साथ बाट फेनारागन १ एम्पुल, बिशालको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरिएको छ भने मनोजको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल र प्रबेशको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल बरामद गरिएको छ ।

उनीहरुको गतिबिधि शंकास्पद लागेपछि नियन्त्रणमा लिई स्थानीय चौदण्डीगढी नगर अस्पतालमा भिडियो एक्सरे गरिएको थियो । भिडियो एक्सरेमा मलद्वारमा भित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहिर निकालिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागू औषध ओसार पसार मुद्दामा थप अनुशन्धानका लागि उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

बेल्टारमा यसअघि पनि मलद्वारमा राखेर लागू औषधको कारोवार गर्ने पक्राउ परेका थिए । यस क्षेत्रमा लागू औषध प्रयोगकर्ताको संख्या बाक्लिदै गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया