उदयपुर । सार्वजनिक सवारीसाधनका कर्मचारी, चालक, सहचालक, परिचालकलाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यालय उदयपुरले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ । ट्राफिक सप्ताहको अवसर पारेर त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लापसे चेकजाँच अभियान सुरु गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार शुभारम्भ गरे ।
सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर आइतबारदेखि चेकजाँच सुरु गरिएको उदयपुर ट्राफिक प्रमुख लोक बहादुर दियालले जानकारी दिए ।

चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागू औषध सेवन गरे÷नगरेको पत्ता लगाउने काम भएको बताए । जसमा एक जनामा लागूऔषधि सेवन कर्ता र दुई जना मादक पदार्थ सेवन कर्ता भेटिएको बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) ज्ञानेन्द्र फुयालका अनुसार मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।

‘चालकले लागू औषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ एसपी फुलालले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’

उनका अनुसार लागू औषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागू औषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागू औषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उद्देश्य रहेको जानकारी एसपी फुयालले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।

लापसे चेकजाँचका लागि आवश्यक पर्ने किट मार्फत चेकजाँच गरिएको थियो । किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागू औषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागू औषध सेवन गरेको यकिन हुन्छ । अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुई वटा राता धर्का देखियो भने लागू औषध सेवन गरेको छैन भन्ने प्रस्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’

एसपी फुयालले उदयपुर लागू पदार्थ दुव्र्यसनीको ट्रान्जिट पोइन्ट जस्तै भएकोले त्यसलाई न्यूनीकरण गर्न र आम नागरिक एवम सवारी चालकलाई चेतना फैलाउन यो कार्यक्रम प्रभावकारी रहेको र यो कार्यक्रम निरंतरता दिनुपर्ने बताए ।

त्रियुगा नगरपालिका ६ का वडा अध्यक्ष योगेन्द्र दाहालले जिल्लको सदरमुकाम प्रवेशद्वार भएकाले यस क्षेत्र लागू औषध ओसार–पसारको लागि सजिलो बाटोको केन्द्र भएकोले त्यसलाइ न्यूनीकरण गर्न स्थानीय सरकार, प्रहरी पशासनको समन्वयमा जलजलेमा ३ वटा र लालपतामा १ वटा सिसि क्यामेरा जडान गरिएको बताए । उनले मापसे र लापसे चेकजाँच नियमित रुपमा सञ्चालन हुनुपर्ने र त्यसको लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

लापसे चेकजाँच शुभारम्भको लागि प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी प्रमुख फुयाल, त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष योगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ को कार्यक्रम अन्तर्गत सवारी चालक र सहचालकको आँखा र ब्लड प्रेसर चेकजाँच गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ छैन लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । शनिबार ट्राफिक पोष्ट जलजलेमा ३० वटा सवारी साधन चालकको ब्लड प्रेसर र आँखाको चेक जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय जलजले, यातायात व्यवस्था सेवा सेवा कार्यालय गाईघाट, आँखा अस्पताल गाईघाटको संयुक्त आयोजनामा जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधनको ३० चालकको ब्लड प्रेसर र ३० जना चालकको आँखाको जाँच गरिएको थियो । आँखा चेक जाँचको क्रममा रंगहरुको बारेमा जानकारी गराउनुको साथै बाटो पत्ता लगाउने, अंक चिन्न लगाउने समेत गरिएको थियो ।

ट्राफिक प्रहरी पोष्ट जलजलेका इन्चार्ज निश्चल सुवेदीका अनुसार सार्वजनिक यातायातको सवारी साधन दुर्घटना हुने गरेको पाईएपछि चालकहरुको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ कि छैन ? सवारी साधनको अवस्था कस्तो छ ? लगायत चेक जाँच गरेको बताए ।
आँखा अस्पताल बोक्सेका प्राविधिक अर्विन्द कुमार साह, जिल्ला अस्पतालकाका स्वास्थ्यकर्मी ओम प्रकाश पल, यातायात व्यवस्था सेवा कार्यालय गाईघाटबाट सुनिल कुमार चौधरी, ट्राफिक प्रहरी लगायतको उपस्थितिमा स्वास्थ्य चेकजाँच भएको थियो ।

 

तपाईको प्रतिक्रिया