उदयपुर – उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भिषण आगालागी भएको छ । बिहीबार बिहान ७ः४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा हालसम्म एक घर सहित ७ गोठ जलेर नष्ट भएको छ ।
कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै चोक बहादुर केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई गोठ हुँदै बाख्रा फर्म, बंगुर फर्म लगायत ७ वटा गोठको काठपात, पराल जलेर नष्ट भएको हो ।
आगलागीबाट चित्र बहादुर मगर र मंगली माया मगरको गाई गोठ र कृषि फर्म जलेर नष्ट भएको वडाध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा आईसकेको छ ।
आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीन वटा दमकल, स्थानीय र प्रहरी परिचालन गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । उनका अनुसार क्षतिको पूर्ण विवरण आई नसकेको बताए ।









