उदयपुर – जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको दोस्रो बैठक लिम्चुङबुङ गाउँपालिकाको पर्यटकिय स्थल एभरेष्ट भ्यू टपमा बसेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आफ्नो सदस्यता विस्तारसँगै बैठकहरु फरक फरक पालिकामा गर्ने निर्णय बमोजिम पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपमा बसेको हो । जहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत ६ वटा हिमालहरु हेर्न सकिन्छ ।
आगामी आर्थिक वर्षको भावी कार्यक्रम लगायतको विषयमा बैठक बसेको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए ।

जिल्लाको विकासमा हातमा हात काँधमा काँध थाप्न तयार रहदै जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले पर्यटकीय स्थल सूचना केन्द्र स्थापना गर्ने, बाह्य तथा आन्तरिक पर्यटक भित्राउन सहयोग गर्ने लगायतको निर्णय गरेको छ ।
उदयपुरको आठै पालिकासँग समन्वय गरी उदयपुर एकस्पो २०८० गर्ने निर्णय गरेको छ भने व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम, कर परामर्श, व्यवसाय दर्ता प्रक्रिया लगायतको कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । क्लिन उदयपुर ग्रिन उदयपुरको नारा सहित हाट बजार तथा व्यसाय गर्ने पसल वरिपरिको सरसफाइ गर्ने, लागू औषध सम्बन्धी जनचेतना जगाउने लगायतको निर्णय भएको अध्यक्ष कार्कीले बताए ।

एम्बुलेन्स संचालन गर्ने, सित भण्डार निर्माणको लागि पहल गर्ने लगायत प्रत्येक पालिकामा उत्पादित वस्तुहरुलाई सदरमुकामसम्म बजारीकरण गर्न सहयोग गर्ने निर्णय भएको अध्यक्ष कार्कीले बताए ।

मासिक लेवी तथा सिड मनीको अवधारण अनुरुप कार्यालय लगायतको खर्च जुटाउने बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया