उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडितहरुसँग जाहेरी माग गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका संचालक/अध्यक्ष केदारनाथ शर्मा लगायत संचालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्ध प्रहरीले जाहेरी माग गरेको छ ।
सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्दा दर्ता भई हाल अनुसन्धान भईरहेको हुँदा उक्त संस्थाद्वारा पीडित भएका सर्वसाधारण निक्षेपकर्ताहरुले जाहेरी दिन बाँकीहरुको लागि जाहेरी दरखास्त माग गरिएको प्रहरीले जनाएको छ । जाहेरी अपराध अनुसन्धान शाखामा दिन सकिने प्रहरीले जनाएको छ ।

उदयपुरमा झण्डै चार हजार बढी बचत कर्ताको करिव एक अर्वको हाराहारिमा रकम सहकारीमा फसेको छ । उदयपुरका ५५ हजारदेखि एक करोड बढीसम्मको बचतकर्ताहरुले रकम जम्मा गरेको पाइएको छ ।

यस्तै सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा विराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि मुद्दा दर्ता गरेको छ । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङ्गले मोरङको उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका १४ घर भई विराटनगर महानगरपालिका ३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका २ का संस्थाका क्षेत्रीय प्रबन्धकको रूपमा कार्यरत मन्दिप खवास सहित तीनै जना पुर्पक्षको लागि जेल चलान भएको छ । संस्थाका अध्यक्ष केदारनाथ शर्मा लगायत अन्य संचालकहरु फरार रहेका छन् ।

यस्तै उदयपुरको गाईघाटमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरमा कुनै सम्पत्ति नरहेको खुलेको छ । आफ्नै भवन, आफ्नै करोडौंको जग्गा जमिन भन्दै सर्वसाधारण ठग्न माहिर तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरको कुनै चल अचल सम्पत्ति नरहेको खुलेको छ ।

गाईघाटको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर रहेको भवन र त्रियुगा नगरपालिका ४ स्थित रहेको करिव ११ विगहा जमिन नटराज एग्रो प्रा.लि. को नाममा रहेको छ भने त्रियुगा नगरपालिका १५ खाँबुमा कौडीको दाममा जाने जग्गा जमिनमा दश गुण बढी मूल्याङ्कन बढाएर खरिद गरेको करिव एक सय रोपनी जग्गा पनि तुलसी कृषि अनुसन्धान केन्द्रको नाममा रहेको छ । सो जग्गा हदबन्दी भन्दा बढी भएको समेत मालपोत कार्यालय स्रोतले जनाएको छ ।

यस्तै तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माको नाममा पनि व्यक्तिगत जग्गा जमिन खरिद भएको खुलेको छ । स्रोतका अनुसार देउरी जलजले लगायत ठाउँमा शर्माको नाममा पनि जग्गा जमिन खरिद भएको खुल्न आएको छ ।

त्रियुगा नगरपालिकाको न्यायिक समितिको इजलासले तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, तुलसी कृषि अनुसन्धान केन्द्र र नटराज एग्रो प्रा.लि. र अध्यक्ष शर्माको नाममा रहेको जग्गा जमिन तीन महिनाको लागि रोक्का गर्न मालपोत कार्यालय उदयपुरलाई पत्रचार गरिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया