उदयपुर – जिल्ला अदालत काभ्रेपलानचोकबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी उदयपुरमा हतियार सहित पक्राउ परेको छ । सुनसरी बराहक्षेत्र नगरपालिका ७ बस्ने बर्ष ३० को कुमार भन्ने जय कुमार राई उदयपुरको बेलका नगरपालिका ३ टप्पु एरियाबाट शनिबार विहान १ः३० बजे हतियार सहित पक्राउ परेको हो ।
बेलका नगरपालिका ३ टप्पु एरियामा लुकिछिपी बसेको भन्ने ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकको पत्र अनुसार ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी निरीक्षक सुभाष खनाल सहितको प्रहरी टोलीले राईलाई लोड गरिएको भरुवा बन्दुक थान १ थान र ५ राउण्ड लोड गरिएको म्याग्जिन र Made in USA लेखिएको सेमी अटोमेटिक सानो पेस्तोल थान १ सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । फरार प्रतिवादी राईलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।









