उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित मोतिगडामा पुरानो दरबारको भग्नावशेष फेला परेको छ । अहिले त्रियुगा जनता बहुमुखी क्याम्पस परिषरमा रहेको पुरानो दरबारको उत्खनन शुरु गरेको छ । पुरानो इटाको वाल भएको र इनार जस्तो देखिएको ठाउँमा उत्खनन गरिरहेको छ ।
पुरातत्व विभागको पुरातत्व विद देवेन्द्रनाथ तिवारीको नेतृत्वले टोलीले पाँच दिनको उत्खननको क्रममा भग्नावशेष प्राचिन बस्तु तथा मूर्तिका टुक्रा, इटाको टुक्राहरु फेला परेको हो । दरबारको क्षेत्रको पुरानो इटाले बनेको वाल पनि फेला परेको छ ।

पाँच दिनदेखिको उत्खननमा फेला परेको अवशेष इशापूर्व पहिलो वा दोस्रो शताब्दीको हुन सक्ने दाबी गरिएको छ ।
मोतिगडा जसलाई स्थानीय बुढापाका र थारु समुदायमा मुढगडाको नामले परिचित छन् । थारु समुदायको कथन अनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानी विच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेपछि यस ठाउँलाई मुढगडा नामाकरण भएको थियो । अहिले यस ठाउँलाई मोतिगडा भनिन्छ ।
दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वका बिषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन शुरु गरिएको पुरातत्व विद देवेन्द्रनाथ तिवारीले बताए । उनले प्रारम्भिक चरणमा दरबार क्षेत्रको माटोको ढिस्कोको रुपमा रहेको भागलाई रेखाङ्कन गरेर उत्खनन गरेको जनाएको छ ।

लिच्छवि वा गुप्तकालीन कलाशैलीका मुर्तिहरु हुन सक्ने अनुमान गरिएको उदयपुरको इतिहासका लेखक तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले बताए । उत्खननको क्रममा इशापूर्व पहिलो वा दोस्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको चेम्जोङले बताए । उनका अनुसार राजाको दरबार मुसलमानी आक्रमणमा प्राचीन सभ्यता नष्ट भएको अनुमान गर्न सकिन्छ ।
उत्खनन टोलीमा पुरातत्व विद प्रकाश दर्लान, फोटो ग्राफर रामचन्द्र श्रेष्ठ, प्राविधिक सहायक विराट थापा, आर्चिटेक्ट इन्जिनियर रोशनी श्रेष्ठ लगायतको टोली परिचालित छन् ।

उत्खनन भईरहेको ठाउँको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले निरीक्षण गरेको थियो । पुरातत्व विभागको टोलीले त्रियुगा नगरपालिका ८ बाघचौरीमा अवस्थित खाट मन्दिरको पनि उत्खनन गर्नेछन् । तस्विर : Bharat Raj Rawat काे फेसबुकबाट

 

तपाईको प्रतिक्रिया