उदयपुर – उदयपुरमा सोमबार साँझ अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ दियाले स्थित गाईघाट दिक्तेल सडक खण्डमा प्र. १–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ४ का तिर्थ मगरको ५ वर्षिय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले जानकारी दिए । अन्य आठ जना सामान्य घाइते भएका छन् ।
घाइतेहरुमा त्रियुगा नगरपालिका ४ बगहा बस्ने ४७ वर्षिय लिला बहादुर मगर, सोही ठाउँका ३३ वर्षिय लिला मगर, २६ वर्षिय बालिका मगर, त्रियुगा नगरपालिका १५ का २९ वर्षिय मान बहादुर मगर, सोही ठाउँका ४४ वर्षिय सहि बहादुर मगर, सहि बहादुरकी ४४ वर्षिय श्रीमति डिकमाया मगर, सोही वडाका २० वर्षिय चेतना मगर र १५ वर्षिय राजकुमार मगर घाइते भएका छन् । उनीहरुको सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।
साउनेबाट गाईघाट तर्फ आउँदै गरेको अटोको अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्कि दुर्घटना भएको प्रहरीले जानकारी दिए । अटोमा क्षमता भन्दा बढी सवार रहेकोले पनि ब्रेक फेल भएको हुन सक्ने प्रहरीले जनाएको छ ।









