उदयपुर, भारतमा ४ वर्षदेखि बेपत्ता बालकलाई पारिवारिक पुनरमिलन गराईएको छ । उदयपुरमा नेस्पेकद्वारा सञ्चालित बाल हेल्पलाईनको सहयोगमा ४ वर्षदेखि बेपत्ता बालकको पारिवारिक पुनरमिलन भएको हो । त्रियुगा नगपालिका ५ दमौतीका १५ वर्षीय बालक विजयकुमार योगी बेपत्ता भएको ४ वर्षपछि भारतको दरभंगाबाट फेला पारी बाल हेल्पलाईन टोलीले उद्धार गरी नेपाल ल्याएर पुनरमिलन गराएको हो ।
६ वर्षयता गाईघाटस्थित नेस्पेक उदयपुरले बाल हेल्पलाईनमार्फत हराएका तथा आपतविपतमा परेका बालबालिकाको उद्धार, उपचार तथा व्यवस्थापन र पुनरमिलन गराउँदै आएको छ । यसै क्रममा ३ महिनाअघि दरभंगास्थित रेलवेस्टेशनमा बेवारिसे अवस्थामा भेटिएका योगीको विषयमा हेल्पलाईनमा खवर आएपछि उद्धार गरिएको नेस्पकेका महासचिव अर्जुन पोखरेलले बताए । उनका अनुसार रेलवेस्टेशनमा अलपत्र परेको बालक नेपाली भएको भन्ने खवर आएपछि सोधीखोजी गरी उद्धार गर्दा त्रिनपा ५ को स्थायी बासिन्दा भएको खुलेपछि नेपाल ल्याइएको हो ।
उनलाई हेल्पलाईनले उदयपुर प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर र केन्द्रीय बालकल्याण समितिको सहयोग नेपाल ल्याइएको पोखरेलले बताए । माघ १ गते साँझ योगीलाई परिवारको जिम्मा लगाइएको छ । घरमा राख्ने वातावरण नभएकाले बालकलाई उदयपुरगढी गाउँपालिका ५ स्थित मामाघर लगेर आमा र हजुरवाको जिम्मा दिइएको नेस्पकेका बाल हेल्पलाईन परियोजना संयोजक शिरोमणि खतिवडाले बताए ।
वर्षौंदेखि बेपत्ता भएका बालकका बाबु हालसम्म सम्पर्कविहीन भएको मामली हजुरवालाई उद्धृत गर्दै हेल्पलाईनले जनाएको छ । बालक किन र के कारण भारत पुगे भन्ने पनि खुल्न नसकेको खतिवडाले बताएका छन् ।

तपाईको प्रतिक्रिया