उदयपुर । उदयपुरको तीन स्थानीय सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा, चौदण्डीगडी र बेलका नगर सरकारले असोज २ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्रियुगा क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती रहेको छ ।

खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा क्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए । उनका अनुसार भदौं ३१ गतेको नगरको निर्णय बमोजिम विदा दिने निर्णय गरेको बताए । जितिया पर्वको अवसरमा त्रियुगा नगरपालिका, माताहतको वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द रहने सूचनामा जनाएको छ ।

यस्तै प्रदेश र संघ सरकारको माताहतमा रहने कार्यालय भने विदा नहुने भएको प्रदेश सरकारका एक कर्मचारीले जानकारी दिए ।
उदयपुरका थारू समुदायले यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रवद्र्धन गरि मनाउने भएको छ । थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दवाव मुलक कार्यक्रम गरि मनाउने जनाएको हो ।

थारू कल्याणकारिणी सभाका अध्यक्ष शिवकान्त चौधरीका अनुसार थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारू भाषालाई मान्यता नदिने भाषा आयोगको निर्णय बिरूद्ध दवावमूलक कार्यक्रम गर्ने जनाएको छ । उदयपुर जिल्ला भरिनै विषेश साँस्कृत कार्यक्रम गरि जितिया मनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया