उदयपुर – गाईघाट–फत्तेपुर सडकको ट्रयाक खुलेको ५५ वर्ष भयो । तर, उदयपुरकै पहिलो सडकमा मानिने उक्त खण्डमा पर्ने खोलानालामा कजवे, कल्भर्ट र पुल केही पनि बन्न सकेका छैन ।चुनाव अघि राम्रा नाराहरु लगाएपनि चुनाव सकिएपछि प्रतिवद्धता विर्सिने गर्दा आइतबार कङ खोलामा बस र ट्रक बगाएको छ । उदयपुरको त्रियुगा नगरपालिका स्थित कंग खोलामा काकरभिट्टाबाट गाईघाट आउदै गरेको डल्फिन यातायातको बस बगाएको हो । बसका करिव ३५ यात्रुहरुलाई स्थानीयले उद्धार गरेर सुरक्षित गरे भने बस खोलामा पुरिन पुग्यो । त्यसको केहि वर भने एउटा ट्रक पनि पानीमा डुब्यो र जेसिवी लगाएर निकाले ।

यहि जेष्ठ २० गते शुक्रबार बिहान ना.१ज ८१०६ नम्बरको जिप काठमाडौंका लागि छुट्यो । तर, गाईघाट–फत्तेपुर सडक खण्डमा पर्ने चौदण्डीगढी– ९ स्थित मुसहर्निया खोलामा आएको बाढीले जिप बगायो । हडिया खोलाको बाढीले सुमो बगाउँदा नाबालक सहित चार यात्रुको उद्धार स्थानीयले उद्धार गरे । चौदण्डीगढी नगरपालिका ९ बस्ने शुशिला अधिकारीको नावलक छोरासहित चार जना यात्रु सुमोमा सबार थिए । उनीहरूलाई उद्धार गर्ने स्थानीय चन्द्रलाल गिरी भन्छन्, ‘जिप जाँदै थियो, खोलामा एक्कासि बाढी बढेर आयो । झन्डै सय मिटर बगेको जिपबाट यात्रुको उद्धार ग¥यौँ ।’

जिल्लाकै सबैभन्दा पुरानो सदरमुकाम उदयपुरगढी हुँदा सप्तरीलगायत बाहिरी जिल्लासँग जोड्न सडक निर्माण गरिएको बताइन्छ । ३१ किलोमिटर दूरीका सडकमा पर्ने दर्जनौं खहरे खोलामा बर्खायामा यातयात ठप्प हुने गरेको छ । हिउँद याममा पनि कष्टकर रुपमा यायतात सञ्चालन हुने गरेको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष ध्रुव खत्रीले बताए । उनले भने, ‘कस्को बेवास्ताले भन्नु अझै पनि सडकमा पर्ने खोलानालमा पुल बन्न सकेका छैन ।’

उक्त सडक उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका हुँदै सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरसँग जोडिन्छ । तीन वर्ष अघि विश्व बैंकको सहयोगमा सञ्चालित ग्रामीण सडक सुदृढीकरण परियोजनाले उक्त सडकको स्तरोन्नतिबाट हात झिकेपछि अहिले कस्ले निर्माण गर्ने टुङ्गो छैन् ।

गाईघाट फत्तेपुर सडक निर्माणका लागि योजना परे पनि यो सडकमा पर्ने खोलामा पक्की पुल नहुदा हजारौ जनताले सास्ती भोग्नु परेको नेकपा एकीकृत समाजवादीका प्रवक्ता विपिन आचार्य बताउँछन् । ‘गाईघाट–फत्तेपुर सडकखण्डमा पर्ने दर्जनौँ खोला, खोल्सीमा पुल र कजवे छैनन ्। बर्सेनि बर्खायाममा सवारीसाधन बग्ने र बगाउने त परम्परा नै हो । रातको समय बाढीमा परियो भने ज्यान नै गुमाउनुपर्छ ।’

यता अर्का स्थानीय तारानाथ पौडेलले सडक खुलेको ५५ वर्ष हुँदा पनि खोलानालाहरूमा पुल नबनेको गुनासो गरे । उनले भने, ‘गाईघाट–फत्तेपुर सडक ०२४ सालदेखि सञ्चालनमा आएको हो । अहिले ०७९ सम्म आइपुग्दा ५५ वर्ष पुगेको छ ।’ सडक बनेको ५५ वर्ष पुग्दा पनि खोला तथा खोल्साका दर्जनौँ स्थानमा पुल र कजवे छैनन् । उनै पौडेल भन्छन्, ‘पुल र कजवेका कारण यस गाईघाट–फत्तेपुर सडकमा बाढीमा सवारीसाधान बग्ने, डुब्ने सधैँ भइरहन्छ । हाम्रो दुःखका कुरा कस्ले सुन्ने ?’

गाईघाट–फत्तेपुर सडक ०२४ सालमा उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीसम्म पु¥याउने लक्ष्यका साथ निर्माण गरिएको थियो । करिब ३० किलोमिटर लामो उक्त सडकले उदयपुरको गाईघाटबाट सप्तरीको फत्तेपुर हुँदै पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गसम्म उदयपुरलाई पहिलोपटक जोडेको थियो । सोही सडकखण्डमा चौदण्डीगढी नगरपालिका– ५ को शिवाई, सुन्दरपुर, ९ र १० को हडिया, त्रियुगा नगरपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने रुपनी, जोगीदह, मोथियाई लगायतका क्षेत्रका सयौँ बस्ती पर्छन् । यिनै बस्तीलाई गाईघाट र फत्तेपुर सडकमा पर्ने सनुवा, लुहाले, बबिया, कङ्ग, बाहुना, मुसर्निया, शिवाई, धेरू लगायतका खोला र खोल्सीमा पुल नहुँदा सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

उदयपुरका स्थानीय पत्रकार यदु ढकाल भन्छन्, ‘सडक बनेको पाँच दशकभन्दा बढी हुँदा पनि दर्जनौँ खोलामा पुल नबन्नु दुःखद छ । धेरै नेताले चुनावका वेला यस भेगमा यही सडकको स्तरोन्नति र खोला खोल्सीमा पुलका नारा लगाउँछन् । तर, जितेर गएपछि त्यस विषयमा कुरा नै गर्न विर्सिन्छन् ।’ दशकौँसम्म सडकको दूरावस्था हुँदा पनि संघ सरकारले भने यस वर्षको बजेटमार्फत उदयपुरमा विमानस्थल बनाउने घोषणा गरेको छ ।

गाईघाट–फत्तेपुर सडक मध्ये चुरेको काखमा पर्छ । चुरेमा पानी पर्दा आउने बाढीले स्थानीयलाई सास्ती दिँदै आएको छ । सोही क्षेत्रबाट ०२४ देखि अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिबहादुर बस्नेत, नेकपा एमालेका लक्ष्मीनारायण चौधरी, सुरेश कार्की र मञ्जु चौधरी तथा नेपाली कांग्रेसका डा. नारायण खड्का लगायतका नेता पटक पटक सांसद र मन्त्री भइसकेका छन् ।

यहि क्षेत्रबाट यता एमालेका विमल कार्की र अम्विका थापा, नेपाली काँग्रेसका कांग्रेसका हिमाल कार्की र सन्जा दनुवार र नेकपा एकीकृत समाजवादीका सुनिता चौधरी प्रदेश सांसद छन् । कार्की प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकासमन्त्री पनि हुन् ।

तपाईको प्रतिक्रिया