उदयपुर – नेपाल विद्यालय कर्मचारी परिषद उदयपुरले एक विज्ञप्ती मार्फत जिल्लाका सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्ने घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति उदयपुरको शुक्रबार बसेको बैठकले यही भदौं १२ गतेदेखि १८ गतेसम्म एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले माग सम्बोधन नगरेको भन्दै यही भदौ १२ गतेदेखि १८ गतेसम्म उदयपुर सहित देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो । परिषदको भदौं १९ गते काठमाण्डौंमा वृहत प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको विज्ञप्तीमा जनाएको छ ।

परिषद्का जिल्ला अध्यक्ष बुद्धिलाल चौधरीले भने–‘सरकारले हाम्रा माग पूरै बेवास्ता गरेकाले यस्तो कठोर निर्णय लिनुपरेको हो । आफूहरूका माग पूरा नभए अझ सशक्त विरोधका कार्यक्रम गर्ने छौँ ।’

यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन् । विद्यालय कर्मचारी सहायक (लेखापाल)का लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने, ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालयका कर्मचारीहरुका लागि नेपाल सरकारले तत्काल कार्यविधि मार्फत सम्पूर्ण सेवा सुविधकाको प्रबन्ध गर्न, विद्यालय कर्मचारीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तति वृति आदिको प्रबन्ध गर्नु पर्ने, संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्ने लगायत उनीहरुको माग छ ।

विज्ञप्ती सहित

 

तपाईको प्रतिक्रिया