उदयपुर  – विशेष अदालतले कटारी नगरपालिका लेखा अधिकृत रविनचन्द्र ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गर्न १९ भदौमा पेसी तोकेको छ । वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको अदालतको ठहर छ ।

यो मुद्दामा ढकाल र ढकालको श्रीमती, आमा र काकीको नाममा रहेको सम्पत्ति जफत हुने आदेश भएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले यस्तो आदेश गरेको हो ।

ढकालमाथि तीनवटा मुद्दा दायर भएकोमा तीनवटैमा दोषी देखिएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । ‘उहाँविरुद्ध कसुर ठहर भएको छ । सजाय निर्धारणका लागि दुवै पक्षको कानुन व्यवसायीबाट १७ भदौभित्र प्रतिवेदन माग गरी १९ गतेका लागि पेसी तोकिएको छ,’ योगीले भने ।

ढकालले कटारी नगरपालिकामा कार्यरत रहँदा नगरपालिकाको सञ्चित कोषबाट तीन करोड ९७ लाख ५० हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको भेटिएको थियो । बैंकको किर्ते कागजात बनाई उनले ०७४ माघको आफ्नो तलबसमेत दोहोरो निकाली आफन्त तथा परिवारजनको खातामा राख्न लगाएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

कुल तीन करोड ९८ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी अख्तियारले २१ साउन ०७५ मा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । सो रकमबाट जग्गाजमिन खरिद गरेको तथा खातामा राखेको भन्दै श्रीमती रिना आचार्य, आमा प्रेमकुमारी दाहाल र काकी सावित्री प्याकुरेलको नाममा रहेको घरजग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । अख्तियारले अनुसन्धानका क्रममा ढकालकी सासू तुलसादेवी आचार्यका नाममा पनि बैंक खातामा रकम रहेको भन्दै उनलाई पनि प्रतिवादी कायम गरी उक्त रकम जफत हुनुपर्ने दाबी गरेको थियो ।

यो मुद्दा विशेषमा विचाराधीन रहेकै वेला ढकालमाथि थप नयाँ उजुरी आएपछि पुनः अनुसन्धान गरी अर्को मुद्दा दायर भएको थियो । ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा कार्यरत रहेका बखत गलत लिखत तयार गरी आफ्नो खातामा १४ लाख ८९ हजार रुपैयाँभन्दा बढी अनियमितता गरेको पुष्टि भएको थियो । यसमा पनि विशेष अदालतले उनलाई दोषी करार गरेको छ ।

कटारीमा मात्र नभई विगतमा उनी कार्यरत रहेको इलामको माई नगरपालिकामा समेत एकै प्रकृतिको आर्थिक हिनामिना गरेको भेटिएको अख्तियारले जनाएकाे छ । अख्तियारले आफन्तका नाममा किनिएको ठूलो परिमाणको जग्गासमेत रोक्का गरिदिएको छ । अख्तियार उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार आमा प्रेमकुमारीको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखिएको ६ लाख ५५ हजार रुपैयाँ, सासू तुलसादेवीका नाममा काठमाडौं पुलचोकस्थित एनआईसी बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती रहेकी प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा राखिएको २१ लाख ६५ हजार, ढकालकै नाममा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा राखिएको २७ लाख, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा राखिएको १३ लाख रुपैयाँ, काकी सावित्री ढकाल प्याकुरेलको नाममा पठाएर भक्तपुर ९ स्थित दधिकोटमा किनेको ६० लाख रुपैयाँ बराबरको चार आना जग्गा र बैंक खाता रोक्का गर्न परिपत्र भएको छ । भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ ।

उता, झापास्थित पाराखोपी–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र आठ धुर जग्गासमेत भेटिएको छ । यी सबै कित्ताका जग्गा रोक्का गरिएका छन् । यस्तै, ललितपुरको झरुवाराशीमा आफू र पत्नीको नाममा रहेको ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा रहेको पाँच आना एक पैसा तीन दाम जग्गासमेत अख्तियारले रोक्का राखिदिएको छ ।

तपाईको प्रतिक्रिया