उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीको निजि सचिवालयमा आईतवार सल्लाहाकार समिति मनोनय गरेको छ । नगर प्रमुखको निति सचिवालयमा ईश्वरमणि राउत, प्रमेश्वर घिमिरे, किरण राई, गिता रेग्मी, श्रीबहादुर खड्का, दिर्घलाल चौधरी, गिता खड्कालाई सल्लाहाकार समितिमा मनोनय गरेको त्रियुगा नगरपालिकाको प्रबक्ता केदारकुमार दनुवारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाईएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात नागरिकहरुमा सामाजिक राजनैतिक तथा आर्थिक चेतनाको स्तर अभिबृद्धि भएको कारण प्राप्त उपलब्धिहरुको रक्षा गर्दै गणतन्त्रको संस्थागत बिकासको लागि तीन तहकै निर्वाचन भई सकेको बर्तमान अवस्थामा समृद्ध नेपाल र सुखि नेपालीको नारालाई साकार बनाउनु पर्ने बेला आएको विज्ञप्तीमा भनिएको छ ।
तीब्र जनचाहनालाई सम्बोधन गर्न पनि नगरपालिकाले दिर्घकालिन र अल्पकालिन योजनाहरु अघि सारेर काम गर्दै आएको छ । जनप्रतिनिधिहरुबाट जनताको चाहना र आवश्यकताहरुलाई पुरा हुन्छ र द्रुतगतिमा बिकास निर्माण हुन्छ भनि जनचाहाना राख्नु स्वभाविक हो । त्यसैलाई ध्यानमा राखि त्रियुगा नगरपालिकाले पञ्च वर्षिय आवधिक नगर योजना निर्माण गरि योजनाले निर्दिष्ट गरेको क्षेत्रलाई प्राथमिकतामा राखि नगरबासीको तत्कालिन आवश्यकतालाई उपलब्ध श्रोतसाधानको सुमुच्चित उपयोग गरि नगरको बजेट बिनियोजन भई बिकासको काम भई रहेको छ ।
जसमा सामाजिक सेवा, शिक्षा, स्वास्थ्य र सुरक्षा सम्बन्धमा धेरै काम भई रहेको छ । आवधिक योजना अनुरुप नगर गौरबका दिर्घकालिन योजनाहरु नगरपालिका र दातृ निकायको सहयोगमा अघि बढि रहेको छ । समग्र नगरको बिकासमा समृद्धि, सुखि नगरबासी र बिकासका योजनाहरु एक्लै नगरपालिकाबाट मात्र सम्भव छैन् ।
त्यसका लागि सम्र्पूण नगरबासी जनताले हातमा हात काँधमा काँध मिलाउन जरुरी छ भने समाजसेवी, बुद्धिजिवी, राजनितिकर्मि एवम बिकासप्रेमी बिशेषज्ञहरुको उचित सुझाब, सल्लाहा, राय तथा मार्ग निर्देशन आवश्यक परेको जनाएका छन । नगरको समग्र बिकासमा सल्लाहा, सुझाव, राय, मार्ग निर्देशन गर्न माथिको सचिवालयमा सल्लाहाकार समिति मनोनय गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय उदयपुरले आफ्नो गतिविधिहरुलाई मेडिया मार्फत सार्वजनिक गर्ने कार्यमक्रको शुरुवात गरिएको जनाईएको छ ।









