उदयपुर । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै उदयपुर जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनेको संख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झण्डै एक वर्ष राहदानी बनाउनेको संख्या घटेको थियो तर कोरोना भाइरस संक्रमण मत्थर हुँदै गएपछि गत वर्ष राहदानी बनाउनेकोे संख्या ह्वातै बढेको हो ।
गत आर्थिक वर्ष जिल्लाबाट ६ हजार ९ सय ८३ जनाको राहदानीको लागि सिफारिस गरेको छ । जसमध्ये साधारण तर्फ ५ हजार ९ सय ७७ जना र द्रुत (छिटो माध्यम) तर्फ १ हजार ६ जनाको सिफारिस गरिएको छ । राहदानीको सिफारिस गरेको मध्ये २ हजार ४२ जना महिला रहेको छ । राहदानी बापत ३ करोड २५ लाख ३७ हजार पाँच सय राजश्व जम्मा भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार ४ सय ६४ जनाले मात्रै राहदानी बनाएको थियो ।

यस्तै जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गत आर्थिक वर्षमा १० हजार ८ सय २७ जनाले नयाँ नागरिकता जारी भएको छ । त्यस मध्ये ५ हजार ६ सय २४ जना महिला रहेको छ । यस्तै ६ हजार ४ सय १५ जनाले नागरिकताको प्रतिलिपी निकालेका छन् । प्रतिलिपी लिनेमा पुरुष बढी रहेका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा ७ हजार ३ सय ३२ जनाको नागरिकता जारी भएको थियो ।

 

तपाईको प्रतिक्रिया