उदयपुर । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले शुक्रबार त्रियुगा नगरपालिका गाईघाटको दुई वटा सुनचाँदी पसलमा अनुगमन गर्दा व्यवसायीहरुले बजार बन्द गराएका थिए । सुन जोख्ने ढक, तराजु, काँटाको अवस्था के कस्तो छ ? नविकरण गरेको छ वा छैन लगायत विषयमा अनुगमन गरेकोमा गाईघाटका सुनचाँदी पसल सहित पसलहरु बजार बन्द गरेर नापतौल र जिल्ला प्रशासन कार्यालय विरुद्ध नाराबाजी सहित बिरोधमा उत्रिएका छन् ।
विराटनगर गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख अर्थात वरिष्ठ निरीक्षक मनोज कुमार पोखरेल र निरीक्षक मनिषा राई सहितको संयुक्त टोलीले त्रियुगा नगरपालिका भित्रका पेट्रोल पम्पहरु लगायत सुनचाँदी पसल पनि अनुगमन गर्न आएको थियो । अनुगमनका क्रममा सगरमाथा आयल डिपो देउरी, उर्जा फुयल सेन्टर, एस के ट्रेडर्स र रियाज पेट्रोल पम्पको अनुगमन पुरा गरेर सुनचाँदी पसलको अनुगमन गर्न पुग्दा व्यवसायीहरुले अवरोध गरेका थिए ।

अनुगमन टोलीले गाईघाटको वस्नेत आभूषण ज्वेलर्स र रुजल ज्वलर्समा अनुगमनको क्रममा पुग्दा अवरोध खडा गरी नारा जुलुस सहित बजार बन्द गराएका थिए । अनुगमन टोलीले बस्नेत आभूषण ज्वलर्स र रुजल ज्वलर्समा गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख सहित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि महेश विष्ट, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पार्थराज गौतम, नेपाल प्रहरी लगायतले अनुगमन गरेको थियो । अनुगमन गर्न पुगेको टोली पसल भित्र छिर्ने वित्तिकै छेउछाउमा रहेका अन्य सुनचाँदी पसलेहरुले होहल्ला गर्दै अवरोध पु¥याएपछि उक्त टोली फर्किएको थियो ।
बजार क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने नाप तौल यन्त्रको जाँच, नविकरण, दर्ता प्रक्रिया लगायतको विषयमा जानकारी गराउन मात्रै आएकोमा व्यपारीहरुको एकाएक ठूलो भिड जम्मा गरेर अनुगमनमा अवरोध गरेको गुणस्तर तथा नापतौलका प्रमुख पोखरेलले जानकारी दिए । “सुनचाँदी व्यवसायीको ढक तराजु दर्ता, नविकरण गरे नगरेको लगायतको विषयमा काजपत्र माग गर्दा उल्टै व्यपारीको भिड जम्मा गरेर हामी विरुद्ध नाराबाजी गर्दै बजार पसल बन्द गर्नु कतिको जायज विषय हो ।”, प्रमुख पोखरेलले भने, “सुनचाँदी पसलको ढक तराजु दर्ता, नविकरण गर्नु व्यवसायीको दायित्व हो, भनाई नै छ–तिर्खाएको व्यक्ति कुवा खोज्दै जाने हो कि कुवा तिर्खाएको व्यक्ति खोज्न जाने हो ?”

नविन बस्नेत संचालक बस्नेत आभूषण ज्वलर्सको नविकरण नभेटिएपछि चाँडै नविकरण प्रक्रिया पुरा गर्न अनुरोध गर्दै कागज थमाएको जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुगमन प्रतिनिधि महेश विष्टले बताउँनुभयो । उहाँका अनुसार कुनै जरिवाना गरेको होइन, चाँडो ढक तराजु जाँच र नविकरण गर्नुस भनेको हो ।

अनुगमनको टोली अर्को पसलमा कागजपत्र माग गर्दा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष तथा रुजल ज्वलर्सका संचालक रमेश रसाइलीले आफैले सटर तानेर गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीलाई अवरोध पुर्याएको विष्टले बताए । विष्टले भने, “नाप तौल सम्बन्धी कुनै समस्या भए सुनचाँदी व्यवसायी संघ, त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र नाप तौलका प्रमुख आउनु नै भएको छ, सरसल्लाह गरेर अगाडी बढौं भन्दा आउँछौ भन्दै उल्टै बजार बन्द गरेर हिड्नु भयो ।”

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पार्थराज गौतमका अनुसार अनुगमन गर्नु नियमित प्रक्रिया भएको बताए । प्रमुख गौतमले भने, “कागजी प्रक्रिया व्यवसायीले पुरा गर्ने हो, अनुगमन नै अवरोध गर्न पाउँदैन । अनुगमन अवरोध खडा गर्नु उपभोक्तालाई ठगी गर्नु हो ।”

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट अधिवेशन मान्यता नपाएको रमेश रसाइली अध्यक्ष रहेको त्रियुगा उद्योग वाणिज्य संघलाई जानकारी नै नदिइ अनुगमन गरेको भन्दै नापतौल कार्यालय र जिल्ला प्रशासन कार्यालयको विरुद्ध नाराबाजी गर्दै पसल बन्द गराएका थिए ।

त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले अनुगमनको नाममा व्यवसायीहरुलाई तर्साउने गरेको प्रतिक्रिया दिएका छन् । अनुगमनको नाममा जति बेला जुन बेला आएर अनुगमन गर्ने कार्य बन्द गर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

श्रेष्ठले फेसबुक स्टाटसमा “प्रदेश १ मा १४ जिल्लाका ब्यापारी बर्गले सधै ढक तराजु बोकेर नविकरण गर्न बिराटनगर जानुपर्ने ? उदयपुरमा मात्र कयौं हजार ब्यापारी ढक तराजुसंग सम्बन्धित व्यापार गर्दछन । गाईघाटमा यस अगाडि त्रियुगा उद्योग वाणिज्य संघले समन्वय गरेर त्यहि नविकरण गर्ने वातावरण मिलाउँदै आएकोमा २०७८÷०७९ नविकरणको लागि पटक पटक पत्र पठाउदा समेत कुनै सुनुवाई नगरी सिधै बजारमा आएर ब्यापारी बर्गलाई दुख दिने नियत के हो ?” लेखेका छन् ।

यस्तै गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०७८÷७९ को कार्यक्रम अन्तर्गत २०७८ फागुन २५ गतेदेखि ३० गतेसम्म उदयपुरका बजार क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने गरेका नाप र तौल तथा नाप्ने तौलने यन्त्रहरुको जाँच, नविकरण, अनुमतिपत्र वितरण लगायत अनुगमनको कार्यको लागि नापतौल निरीक्षक मनिषा राईको नेतृत्व टोली पठाउने भनेर जिल्ला उद्योग वाणिज्य संघलाई पत्रचार गरेको थियो । गुणस्तर तथा नापतौल कार्यालयको टोली आउने भएपछि सोही अनुसार बेलका र चौदण्डीगढी नगरपालिकामा फागुन २५ गते, रौतामाई र उदयपुरगढी गाउँपालिकामा फागुन २७ गते र जिल्ला उद्योग वाणिज्य संघको कार्यालय र गाईघाटको तरकारी बजार, जलजले, देउरी, चुहाडे लगायतको ठाउँमा फागुन २६, २८, २९ र ३० गते शिविरको आयोजना गरेकोमा केहि व्यवसायीहरुको अवरोधको कारण कार्यक्रम स्थगित भएको जिल्ला उद्योग वाणिज्य संघका सचिव सुनिल साहले जानकारी दिए ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको शिविर संचालन सम्बन्धित समाचार । उदयपुर सिम्रिक दैनिक, प्रकाशित मिति : २०७८/११/२४ गते

 

तपाईको प्रतिक्रिया