उदयपुर – उदयपुरका दुई बालिका बुधबार दिउँसो १ बजे त्रियुगा नगरपालिका १४ धाप्लाङ स्थित सुनकोशी नदीमा डुबेर वेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ का खाम बहादुर राईका १४ वर्षिय छोरी विना राई र सोही ठाउँका जीत बहादुर राईका १३ वर्षिय छोरी विपना राई सुनकोशी नदीमा डुबेर वेपत्ता भएका छन् ।
दिउँसो गाई गोठाला गएकी बालिकाहरुलाई गर्मी भएपछि सुनकोशी नदी नुहाउने क्रममा डुबेर वेपत्ता भएको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए । उनका अनुसार चार पाँच जना बालबालिकाहरु नुहाउन गएपनि विना र विपना अलि गहिरो तिर गएपछि बगाएको प्रत्यक्षदर्शी बालिकाहरुलाई उध्रित गर्दै वडाध्यक्ष मगरले जानकारी दिए ।
वेपत्ता बालिकाहरुले नदी किनारमा फुकालेर राखेको चप्पल, कपडा लगायत अन्य सामान फेला परेपनि बालिकाहरु फेला नपरेको प्रहरीले जानकारी दिए । वेपत्ता बालिकाहरुको आफ्न्त, जनप्रतिनिधि र प्रहरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाकारी दिएको छ ।









