उदयपुर । मौन अवधिको उलंघन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई त्रियुगा नगरपालिका ६ जलजलेका स्थानीयहरुले लखेटेका छन् । मतदाता प्रभावित पार्न मेयरका उम्मेदबार बसन्त बस्नेतलाई भोट माग्न बुधबार विहान जलजलेका जगरनाथ दासको घरमा मुस्लिम समुदायको मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै एमालेका कार्यकर्ताहरुले परराष्ट्रमन्त्रीलाई लखेटेका थिए । 
निर्बाचन आयोगले बैशाख २७ गते राति १२ बजेबाट मौन अबधि लागू गर्दै उम्मेदवारलाई भोट माग्न, चुनावी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गर्न नहुने, मतदाता प्रभावित पार्ने कार्य भोजभतेर, आर्थिक प्रलोभन, धाकधम्की, बन्देजजस्ता कार्य वर्जित गरिएको छ ।
निर्वाचन आचारसंहिता विपरित नेपाल सरकारका मन्त्री नै मेयरका उम्मेदबारसँग चुनावी प्रचारप्रसारमा सहभागी भएको पाइएको छ । त्रियुगा नगरपालिका–६ जलजले जगरनाथ दासको घरमा मुश्लिम बस्तीका मान्छेहरुलाई जम्मा गर्दै नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनु भएका वसन्त बस्नेत र त्रियुगा नगरपालिका– ६ का वडाध्यक्ष पदका उम्मेदवार कृष्ण बुढाथोकीलाई साथमा लिएर भोट मागेको पाइएको थियो । भिड जम्मा गरेर भोट मागिरहदा स्थानीय बासी तथा एमाले निकट युबा संघका कार्यकर्ताले लखेटेका हुन् । जलजलेबाट भागेको परराष्ट्र मन्त्री खड्काको टोली अर्को स्कुल टोल जलजलेमा स्थानीयले अबरोध गर्दा धकेला धकेल समेत भएको थियो ।
मौन अवधिमा भोट मन्त्री खड्का, मेयरका उम्मेदबार लगायतलाई आफुहरुले लखेटेको रमाकान्त चौधरीले बताए । परराष्ट्र मन्त्रीले आचार संहिता उलंघन गर्यो भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराई सकिएको चौधरीले बताए ।
यसरी सरकारको बहालवाला मन्त्रीले नै मौन अबधिको उल्लंघन गर्दै भोट मागेपछी निर्बाचन आयोगले कारबाही गर्छ कि गर्दैन भनेर स्थानीयले प्रश्न गर्न थालेका छन् ।
त्रियुगा नगरपालिका–११ स्थित डिएमगेटका कुखुरा र रौतामाइ गाउँपालिका–७ मुर्कुचीमा कपडा बाँड्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मौन अवधिमा आचारसंहिता विपरित कुखुरा र कपडा बाँडेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।









