गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा चुनावी सरगर्मीले माहोल तातेको छ । छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ सुरु भएको छ । होटल, चियापसल लगायतको थलोमा कुन उम्मेदबारले जित्ला र कुनले हार व्यहोर्ला भनेर गफिनेको कमि भेटिदैन ।

बाँया उजुरी कर्ता : नेकपा एमालेका मेयरका उम्मेदबार भागवत राउत, दायाँ : नेपाली काँग्रेसका मेयरका उम्मेदबार बसन्त बस्नेत । फाइल तस्विर

सोमबार एकाएक नेपाली काँग्रेसको चुनावी अभियानका क्रममा सन्नटा छायो । काँग्रेसको चुनावी अभियानमा एकाएक मेयरका उम्मेदबार बसन्त बस्नेतको उम्मेदबारी रद्द गर्न माग गर्दै नेकपा एमालेका उम्मेदबार भागवत राउले उजुरी दिएको भन्दै एक कान दुई कान मैदान भयो । यस विषयमा के कस्ता कारणले उजुरीको भन्ने विषयमा काँग्रेस भित्र ठूलो खुल्दुली भयो । खुल्दुली शुरु भएसँगै काँग्रेसको चुनावी अभियान एकाएक प्रभावित भयो । बसन्त बस्नेतको उम्मेदबारी रद्द गर्ने माग गर्दै गरेको उजुरीले हामी रानो विनाको माहुरी हुने भईयो भन्दै कुरा यत्रतत्र सर्वत्र फैलियो ।

नेपाली काँग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार बनेका बसन्त बस्नेतलाई भने मतदान हुने ११ दिन अघि उम्मेद्वारी खारेजीको माग गर्दै उजुरी परेको छ । निर्वाचन कानुन र स्वघोषणा विपरित ठूलो परिणाममा भ्याट तिर्नु पर्ने भेटिएको भन्दै एमालेबाट मेयर पदका उम्मेदवार बनेका भागबत राउतले बस्नेतको उम्मेद्वारी खारेजको माग गरेका छन । निर्माण व्यवासायी समेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जे.भि को नामबाट कारोवार गर्दा मूल्य अभिवृद्धिकर भ्याट बक्यौता रहेकाले बस्नेतको उम्मेद्वारी खारेजी हुनु पर्ने माग गरिएको छ । सोमबार मुख्य निर्वाचन कार्यालय उदयपुरमा एमाले उम्मेद्वार राउतले उजुरी दर्ता गराएका छन ।

प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता गर्न बाकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न भन्दै उजुरी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राउतको उजुरीमा भनिएको छ ‘स्थानीय निर्वाचन ऐनको दफा १४ (२) बमोजिम गरि १४ (१) अनुसार उम्मेदवारी रद्द गरिपाउ ।’

बस्नेत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन् भने राउत नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका व्यक्ति हुन् । कांग्रेस उम्मेदवार बस्नेत स्थानीय ठेकेदार समेत हुन् । उनको कम्पनी एपेक्स इन्द्रेणी जेभी र उनको नाम किटान नै गरेर आन्तरिक राजश्व कार्यालय सिरहाले चैत २७ गते मूल्य अभिवृद्धि कर वक्यौता बाँकी रहेको सार्वजनिक सूचना निकालेको थियो । मूल्य अभिवृद्धि कर तिर्न १५ दिनको समयसीमा दिदै राजश्व कार्यालय सिरहाले बैंक कारोबार, घरजग्गा कारोबार लगायत रोक्का राख्ने चेतावनी समेत दिएको छ ।

एमाले उम्मेदवार राउतले आयोगमा उजुरी गरिएको र आयोगले उनको उम्मेदवारी खारेज गर्नुपर्ने माग गरे । कर तिर्न बक्यौता रहेका ठेकेदारहरु उम्मेदवार बन्नै नपाउने स्पष्ट कानूनी व्यवस्था रहेको भन्दै उनले आयोग उम्मेदवारी खारेज गर्नेमा आफू ढुक्क रहेको उनले बताए । ‘जुवातामा पनि पक्राउ परेर दण्ड जरिवाना भोगेको मान्छे हुनुहुन्छ, राज्यलाई तिर्ने कर पनि तिर्नु भएको छैन’ उनले भने, ‘उहाँको उम्मेदवारी कायम रहन सक्ने कुनै आधार छैन ।’

मूख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका प्रवक्ता देवराज भट्टराई सोमबार साझ उजुरी परेको दर्ता भएको पुष्टि गरे । उजुरीका विषयमा छानविन हुन भने बाँकी रहेको उनले बताए । ‘अब उजुरीका विषयमा के गर्ने भनेर श्रीमान् (मूख्य निर्वाचन अधिकृत) ले निर्णय गर्नुहुनेछ’ प्रवक्ता भट्टराईले भने, ‘यस विषयमा भोलिमात्रै थप जानकारी आउनेछ ।’

यस्तो छ भागवत राउतले दिएको उजुरी

तपाईको प्रतिक्रिया