उदयपुर, सामाजिक प्रेरणा जगाउन नसक्दा जेष्ठ नागरिकहरु अझै अपहेलित भएर बस्न बाध्य भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
त्रियुगा नगरपालिकाले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले राज्यले सम्मान गरेपनि समाजको दृष्टिकोणमा परिवर्तन गर्न नसकिएको बताए ।
उनीहरुले जेष्ठ नागरिकहरुलाई यातायातका साधन, स्वास्थ्य लगायत अन्य क्षेत्रमा सहुलियत उपलब्ध गराउने गरी कानुन निर्माण गरेपनि कार्यान्वयन तह फितलो रहँदा सुबिधाबाट वञ्चित भएको बताए । सहभागिहरुले कानुन निर्माणमा जनप्रतिनिधिहरु अघि रहेपनि कार्यान्वयन निकाय कमजोर रहेको गुनासो पोखे ।
जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षावापत दिँईदै आएको भत्तापनि पारिवारिक समस्याकाकारण आफुहरुले पाउने नगरेको बताए । उनीहरुले सामाजिक सुरक्षाका लागि चाहिने उमेर हदमा विभेद हुने गरेको गुनासो पोखे । सहभागि योगेश्वर घिमिरेले भने, “जेष्ठ नागरिक दलितले ६० बर्षको उमेरमै पाउने, अन्य जातीले ७० बर्ष पर्खनु पर्ने, किन यस्तो विभेद् ।”
“जव छुवाछुत हुन्न भनेर राज्यले घोषणा गर्यो, र त्यो हामी कार्यान्वयन गर्दैछौ, कसैले छुवाछुत माने कारवाही पनि हुन्छ भने, अव पनि सामाजिक सुरक्षामा किन विभेद,” उनले भने । सहभागिहरुले राज्यले प्रदान गर्ने सेवासुबिधा विभेद नभई समान प्रकृतिको हुनु पर्नेमा जोड दिए ।
सहभागि रत्नबहादुर बस्नेतले राज्यले के के कुरामा सेवासुबिधा दिन्छ कुनै जानकारी नभएको बताए । उनले भने, “यातायात र स्वास्थ्यमा सुबिधा दिन्छ भन्ने सुनेको हो, बसमा चढदा, न सिट दिन्छ, न भाँडामा नै छुट दिन्छ, कहाँबाट कसरी लिने ।” उनीहरुले सरकारले उपलब्ध गराउने सेवासुबिधा पनि झन्झटिलो रहेको बताए ।
बस्नेतले नेताहरुले चुनावका बेला घोषणा गरेको ५ हजार रुपिँया चुनावी नारामा मात्र सिमित रहेको बताए । “हामीले ५ हजार पाउने आशा गरेका थियौ, अहिलेसम्म पनि पाएनौ कहिले पाउँछौ ।” सहभागि अर्जुनकुमार कार्कीले प्रश्न गरे ?
कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरीले जेष्ठ नागरिकलाई आफ्नो नगरपालिकाले सधै सम्मानको दृष्टिकोणले हेरेको बताईन् । उनले जेष्ठ नागरिकलाई दिईने सेवासुबिधामा नगरपालिका सम्बेदनशिल रहेको हुँदा उहाँहरुलाई सम्मानकासाथ सेवासुबिधा उपलब्ध गराएको बताईन । चौधरीले नगरपालिको दिने सेवासुबिधा अव वडाबाट दिने बताईन ।
सहायक महिला विकास निरीक्षक निरु कार्की, मानवअधिकारकर्मी भरत खड्काले सहजिकरण गर्नु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापालगायतले बोलेका थिए । उनीहरुले दोसल्ला ओढाएर सम्मान गर्नु भन्दा पनि उनीहरुको जीविकोपार्जनमा दिगोपना दिने गरी योजना ल्याउनु पर्ने बताए ।









