उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ स्थित हात्ती अड्केमा बुधबार दिउँसो अन्दाजी साढे एक बजेको समयमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । ना.६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मनवानपुर हैटौडा बस्ने अन्दाजी २८ वर्षिय राजेन्द्र प्रजा घाइते भएका थिए ।
हात्ती अड्केमा गिटी बोकेको ट्याक्टर आफै अनियन्त्रित भई ३ सय मिटर तल खशी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । घाइते चालकलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङको प्रहरीले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याएकोमा उपचारको क्रममा राति ७ः३० बजे प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।









